हेलम्बु, पाँचपोखरी र मेलम्चीका बाढी प्रभावितलाई नगद र खाद्यान्न सहयोग

हेलम्बु, पाँचपोखरी र मेलम्चीका बाढी प्रभावितलाई नगद र खाद्यान्न सहयोग


हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई राहत वितरण गरिएको छ। हेलम्बुका १२२ घरधुरी र बाढीबाट मृत्यु तथा बेपत्ता भएका १४ परिवारलाई राहत वितरण गरिएको हो। त्यस्तै शनिबार नै मेलम्ची बजार पुनःनिर्माण सरोकार समिति, रेडियो मेलम्ची र नमूना बङ्गुर फार्मलाई पाँच लाख ५६ हजार ९७५ रकम हस्तान्तरण गरिएको छ।

इराकबाट नोर्की शेर्पा, हङ्कङबाट माया आङबुहाङ, स्मार्ट टिमका राम अधिकारी र उषा तामाङ, मलेशियाबाट बुद्ध लामा योञ्जन, नागरिक आवाजकी मेरी राई तामाङ, जुहारी कलाकार सङ्घ भोटेकोशी–१ का अध्यक्ष मुके शेर्पा र कतारबाट सोम तामाङको पहलमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको नेपाल प्रतिनिधि एवं अभियानकर्मी कृष्ण तामाङले जानकारी दिए।

हेलम्बुमा १४ मृतक र बेपत्ता परिवारलाइ रु १० हजारका दरले र अन्य प्रभावितलाई रु तीन हजार ५०० का दरले राहत वितरण गरिएको तामाङले बताए। त्यस्तै रेडियो मेलम्ची र मेलम्ची बजार पुनःनिर्माण सरोकार समितिलाई रु १५/१५ हजार र नमूना बङ्गुर फार्मलाई रु आठ हजार प्रदान गरिएको तामाङले बताए। 

पाँच लाख ८० हजार नगद 

याङ्ग्री र सुनचौर बरुवाका बाढी प्रभावितलाई रु पाँच  लाख ८० हजार नगद राहत वितरण गरिएको छ। पाँचपोखरी थाङपाल–२ घर भई हाल अमेरिका रहेका सुरेन्द्र तामाङ र बुद्धिमान तामाङको समन्वयमा सङ्कलन गरिएको सो रकम शुक्रबार ११० घर विस्थापितमध्ये ३२ घरपरिवारलाई वितरण गरिएको हो। 

सात घरलाई रु २५ हजार, छ घरलाई रु २० हजार र बाँकीलाई रु १५ हजारका दरले रकम वितरण गरिएको वडाध्यक्ष पासाङ स्याङबाले जानकारी दिए। साथै १३२ जनालाई कोभिडविरुद्धको भेरोसिल खोप दिइएको पनि स्याङबाले जानकारी दिए।

प्रभावितलाई खाद्यान्न 

मेलम्ची बाढी प्रभावितलाई नेपाल सेफ सोसाइटी युएईले खाद्यान्न सहयोग गरेको छ। शनिबार मेलम्चीमा एक कार्यक्रमका बीच खाद्यान्न सामग्री वितरण गरिएको हो। मेलम्ची क्षेत्रका बाढी प्रभावित २० घरलाई चामल एक बोरा, तेल दुई लिटर, दुई किलो नुन, दुई किलो चिनीलगायत खाद्यान्न सहयोग गरिएको नेपाल सेफ सोसाइटीका विशेष सल्लाहकार वसन्त राईले जानकारी दिए। 

मेलम्चीका समाजसेवी एवं नेपाली काङ्ग्रेसका नेता सागर श्रेष्ठमार्फत मेलम्चीपारिका प्रभावितलाई सामग्री हस्तान्तरण गरिएको हो। युएई बस्ने नेपाली सेफहरूले सङ्कलन गरेको रकमले प्रभावितलाई केही राहत होस् भनेर सो सामग्री वितरण गरेको राईले जानकारी दिए। 

Logo