एसएसबीले तुइन काट्दा जयसिंह महाकाली नदीमा खसेको स्थानीयको आरोप

एसएसबीले तुइन काट्दा जयसिंह महाकाली नदीमा खसेको स्थानीयको आरोप


३० वर्षीय नेपाली युवक जयसिंह धामी भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटेपछि महाकाली नदीमा खसेर बेपत्ता भएको भनिएको घटनाप्रति चर्को आक्रोश व्यक्त भएको छ।

घटनाबारे सत्ता नेतृत्व दल कांग्रेसलगायत विभिन्न दलले आक्रोश व्यक्त गर्दै सरकारको जवाफ पनि माग गरेका छन्। र, आफ्ना नागरिकलाई न्याय दिलाउन दलहरूको माग छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता नरेन्द्रबहादुर चन्दले घटना आज बिहान अन्दाजी ८ः३० बजे भएको बताए। उनले एसएसबीका जवानले तुइन काटेपछि खसेर घटना भएको भन्ने यकिन हुन बाँकी रहेको केन्द्रविन्दुलाई बताए।

तर, ब्यास गाउँपालिका–२ मालका स्थानीयवासीले भने एसएसबीका जवानले तुइन काट्दा महाकाली नदीमा खसेर धामी बेपत्ता भएको प्रवक्ता चन्दको भनाइ छ।

‘देख्ने मान्छे छैन, नदेखि यसै हो भन्न सकिन्न, गाउँलेले भने एसएसबीका जवानले तुइन काटेपछि दुुर्घटना भएको भनेका छन्’, प्रवक्ता चन्दले भने।

घटनाको अनुसन्धानका प्रहरी नायव निरीक्षक नेतृत्वमा सात सदस्यीय टोली र सशस्त्र प्रहरीको पनि अर्को टोली घटनास्थल गएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला सदरमुकाम खलङ्गा आउन चार जना तुइनबाट भारतको उत्तराखण्ड पुगेको र जयसिंह पनि अलिक पछिपछि तुइनबाट नदी तर्दै गरेको खुल्न आएको प्रवक्ता चन्दले बताए।

चन्दका अनुसार जयसिंह नदीमा तुइनमार्फत् तर्दै गर्दा भारतीय एसएसबीका जवानहरू भने अलिक वर देखिएको ती चार जना ब्यासका स्थानीयले बताएका छन्।

Logo