मोरङको उत्तरी ग्रामिण क्षेत्रमा आय आर्जनको स्रोत बन्दै ‘निगुरो’

मोरङको उत्तरी ग्रामिण क्षेत्रमा आय आर्जनको स्रोत बन्दै ‘निगुरो’


जंगलमा उम्रिने निगुरो मोरङको उत्तरी ग्रामिण क्षेत्रका निम्नवर्गका बासिन्दाका लागि आयआर्जनको माध्यम बन्ने गरेको छ।

मोरङको उत्तरी ग्रामिण क्षेत्रका निम्न वर्गका बासिन्दाले सागको रुपमा भान्सामा प्रयोग हुने निगुरो टिपेरै नुन भुटुनको जोहो गर्दै आएका छन्। उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बीचमा पर्ने डूम्रेको जंगलमा दिनहुँ निगुरोको साग टिप्ने गरिन्छ । मोरङको उत्तरीक्षेत्रमा अवस्थित यो चारकोशे झाडीमा प्राकृतिकरुपमा उम्रिने निगुरो यसक्षेत्रका निम्नवर्गका मानिसहरुका लागि आयस्रोतको बन्ने गरेको छ । 

निम्न आयश्रोत भएका सर्वसाधारण दिनहुँ यो जंगलमा निगुरो टिप्न प्रवेश गर्छन्। उर्लाबारीको उत्तरी वडाका साथै मिक्लाजुङसहित अन्य गाउँपालिकाका सर्वसाधारणसमेत यहाँ निगुरो संकलन गर्न आउँछन्। एकाबिहानै जंगल प्रवेश गर्ने उनीहरु दैनिक ८ देखि १० घण्टाको समय खर्चिएर निगुरो संकलन गर्छन्। मिक्लाजुङ गाउँपालिका ३ की भिममाया विक दैनिक छिमेकी महिलाहरुसँग निगुरो संकलन गर्न आउँछिन्। बिहान ८ बजेदेखि ३ बजेसम्म लगातार टिप्दा प्रायजसो दैनिक एक डोको निगुरो लिएर गाँऊ फर्किने गरेको उनले बताइन्। अन्य महिनाको तुलनामा बर्षाको ३ महिना निगुरो बढी पाइने गरेको उनले सुनाइन्।

मधुमल्ला टाँडीकी देवीका दर्जीसमेत दैनिक महिलाहरुको समूह बनाएर डुम्रेको यो जंगलमा निगुरो संकलन गर्न आउँछिन्। बिहान बेलुकाको घरधन्दाबाट बँचेको समय उनले नियमितरुपमै निगुरो टिप्न खचिने गरेकी छिन्। निगुरो टिपैरै बालबच्चाको भरणपोषण र घरखर्चसमेत चलाउने गरेको उनको भनाइ छ।

मधुमल्लाको टाँडीबाट निगुरो संकलन गर्न आइपुगेका मनबहादुर रसाइली पेशाले दैनिक ज्याला मजदुरी गर्ने मजदुर हुन्। पछिल्लो समय कोरोनाका कारण शुरु भएको लकडाउन र निषेधाज्ञाका कारण ज्यालादारी गुमेपछि उनीसमेत निगुरो टिपेरै दैनिक गुजारा चलाईरहेका छन् । निगुरो टिपेरै सबै खर्च नचल्ने भएपनि भरथेगसम्म हुने गरेको उनको भनाइ छ।

जंगलबाट संकलन गरिने निगुरो अधिकांशरुपमा गाउँघरमै खपत हुने गरेको छ भने पूर्वपश्चिम महेन्द्र राजमार्गको सडक किनार यस्को मुख्य बिक्री स्थल हो। राजमार्गको यात्रा गर्ने अधिकांश यात्रीहरुले मोरङको पथरी, कानेपोखरी र भाउन्ने चोकमा नियमित विक्रीका लागि राखिने निगुरो खरीद गरी लान्छन्। पौष्टिक सागको रुपमा भान्सामा प्रयोग गरिने निगुरो २० रुपैयाँदेखि ३० रुपैयाँ मुठासम्म बिक्री हुँदै आएको छ। निगुरो प्राकृतिकरुपमै उम्रिने र हुर्किने भएकाले बिषादी र मलखाधको दुष्प्रभावबाट समेत मुक्त हुन्छ।

Logo