‘राष्ट्रका लागि तपोवन’ अभियान प्रारम्भ

‘राष्ट्रका लागि तपोवन’ अभियान प्रारम्भ


ओशो तपोवनले 'राष्ट्रका लागि तपोवन' नामक एक अभियान प्रारम्भ गरेको छ। व्यक्तिले आफ्नो दैनिक जीवनमा गर्ने हरेक काममा अध्यात्मलाई जोड्दा सो व्यक्ति स्वयंमा रुपान्तरण भई उसको जीवनशैली, व्यवसायिक जीवनमा उत्पादनशीलता र प्रभावकारिता बढेर समाज र राष्ट्रमा नै एक सकारात्मक सन्देश प्रवाह हुनसक्छ भन्ने उद्देश्य लिएर यो अभियान थालनी गरिएको हो।

प्रकृतिको अनुपम सौन्दर्यको बीचमा अवस्थित ओशो तपोवनमै आयोजना गरिएको यो अभियान २६ घण्टाको एक प्रयोगात्मक, व्यवहारिक र आध्यात्मिक कार्यक्रम हो। विभिन्न सेसनहरुमा विभक्त गरी संचालन गरिएको सो कार्यक्रममा सहभागीहरुलाई ध्यानका विविध विधिको साथमा सकारात्मक सोचको विकास एवम् नकारात्मक सोचको जडमूल पत्ता लगाई त्यसलाई निर्मूल पार्ने व्यवहारिक अभ्यासहरु गराइएको थियो। साथै, सहभागीहरुलाई अनावश्यक गम्भिरताबाट मुक्त भइ हाँसो, खुसी र आनन्दित भइ सहज जीवन जिउने कला पनि सिकाइयो। पछिल्लो समयमा तीव्रताका साथ विश्वव्यापी रुपमा बढिरहेको महारोग र मानसिक तनाव न्यूनिकरण गर्ने विभिन्न प्रभावकारी उपायहरु सिकाइएको थियो।

ओशोको ‘जोर्वा दि बुद्ध’ दर्शनमा आधरित ’राष्ट्रका लागि तपोवन‘ नामक यस अभियानको पहिलो श्रृंखलामा राष्ट्रका विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरूकाे सहभागिता रहेको थियो। 

सहभागीहरुले २६ घण्टाको छोटो समयमै पनि आफ्नो मानसिक तनाव विसर्जन गर्दै सकारात्मक सोचको वृद्धि र अध्यात्मिक जागरण आफूभित्र जागृत भएको प्रतिकृया दिएका छन्।

हरेक १५–१५ दिनमा ओशो तपोवनले संचालन गर्ने यो अभियानमा समाजका जुनसुकै वर्ग, उमेर र तहका व्यक्तिहरुले सहभागिता जनाउन सक्नेछन्। बोधिसत्व स्वामी आनन्द अरुण प्राचार्य रहनु भएको यस अभियानको अवधारणा स्वामी आनन्द देव (भवन भट्ट) को रहेको छ भने संयोजक स्वामी आनन्द अर्हत र सोविता सिम्खडा रहेका छन्।

पहिलो श्रृंखलाका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै अभियानका प्राचार्य बोधिसत्व स्वामी आनन्द अरुणले एक कप चियामा एक चम्चा चिनी मिसाउँदा आउने मिठास जस्तै जीवनमा अध्यात्म मिसाउँदा जीवन नै मिठो र सार्थक हुने बताए। हामीले गरेका सानातिना कामहरुलाई हामी हाम्रो संसार ठान्छौं तर जीवनको समग्रतामा हेर्दा त्यो अत्यन्तै मूल्यहीन हुने भएकोले अनावश्यक भागदौड र नताव नलिन उनले सबैलाई सुझाव पनि दिए।

Logo