बल्ल बुझे परिवारले पल्टुको शव

बल्ल बुझे परिवारले पल्टुको शव


धनुषा प्रहरी कार्यालयको शौचालयमा मृत फेला परेका पल्टु रविदासको शव चार दिनपछि आफन्तले बुझेका छन्।

अधिकारकर्मीको रोहबरमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग पीडित परिवारका सदस्यबीच दुई बुँदे सहमति र लक्ष्मीनिया गाउँपालिकासँग भएको समझदारीपछि दासको शव परिवारले बुझेको हो।

दुई बुँदे सहमतिमा पीडित परिवारलाई राहतका लागि प्रदेश र संघीय सरकारलाई सिफारिस गर्नेदेखि लक्ष्मीनिया गाउँपालिकाले पीडित परिवारका एक सदस्यलाई जागिर दिने सझदारी गरेको छ।

रबिदासको कुटपिट मुद्दाका थुनुवा हुन्। उनी शनिबार कार्यालयको शौचालयमा मृत अवस्थामा फेला परेका थिए।

प्रहरीले भने रविदासले आत्महत्या गरेको बताएको छ। तर, मृतकका परिवारले भने हत्या भएको भन्दै घटनाको छानबिन गरेर दोषीलाई कारबाहीको माग गर्दै आएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मकेन्द्र मिश्रलाई प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएको छ। सेन्ट्री बसेका भनिएका प्रहरीलाई भने तत्कालका लागि निलम्बन गरिएको प्रदेशका डीआईजी उमेश रञ्जितकारले बताए।

Logo