देशप्रति गर्व र मधेसप्रति माया हुनुपर्छ : प्रदेश प्रमुख झा

देशप्रति गर्व र मधेसप्रति माया हुनुपर्छ : प्रदेश प्रमुख झा

केन्द्रबिन्दु
0
Shares

प्रदेश–२ का प्रमुख राजेश झा ‘अहिराज’ ले सकारात्मक सन्देश फैलाउन सुरक्षा निकाय, कर्मचारी र पत्रकार मिलेर काम गर्नुपर्ने बताएका छन् । सप्तरीको सुरक्षा निकायका पदाधिकारी र पत्रकारबीच भएको आज अन्तरक्रियामा उनले हरेक नागरिकलाई देशप्रति गर्व र मधेसप्रति मायाको भावना जागृत गराउन एकजुट हुनुपर्ने बताए । 

भ्रष्टाचारीको जात, धर्म, आस्था नहुने भएकाले क्षमा गर्न नहुने तथा राष्ट्रिय एकता र नागरिकको सुरक्षाका विषयमा सम्झौता नहुने उनले बताउए । देशमा पछिल्लो समय उदारवाद, अनुदारवाद, चरमपन्थ, कट्टरवाद, बिग्रह हुँदै हिंसामा परिणत हुने अवस्था गम्भीर समस्याका रूपमा देखिएको झाले बताए । 

सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जिल्लाको शान्ति सुरक्षा, कोरोना महामारी नियन्त्रणका लागि भएको गतिविधि, विपद्को तयारीको अवस्था बारेमा बताए । प्रजिअ आचार्यले जनता र राज्यबीचको दूरी कम गर्न सामिप्यतालाई प्राथमिकतामा राखेको बताए । 

नेपाली सेनाका गणपति नीरज भण्डारी, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ, उपअनुसन्धान निर्देशक नरेशबहादुर शाहले सीमा सुरक्षा, सीमास्तम्भ, लागूऔषध, द्वन्द्व, हिंसा र अपराधजन्य गतिविधि तथा पत्रकारलाई सूचनाको उपलब्धताको अवस्थाबारे जानकारी गराए । 

 पत्रकार मनोहर पोखरेल, धीरेन्द्र साह, अवधेश झा, श्रवण देव, वैद्यनाथ यादवलगायतले जिल्लाको विभिन्न क्षेत्रमा भइरहेको बेथितिबारे चर्चा गर्दै भ्रष्टाचारका विषयमा आएका समाचारप्रति राज्य सम्वेदनशील हुनुपर्ने माग गरेका छन् । 

Logo