सुनसरी प्रहरीले एक महिनाको अवधिमा २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार महिना दिनको अवधिमा २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ५५ जना महिला र १ सय ८३ जना पुरुष रहेका छन्। विभिन्न मुद्दामा ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीहरुलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, डाका, अपहरण तथा शरीर बन्धक जस्ता घटनामा संलग्न व्यक्तिहरु छन्। त्यसैगरी कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग र भ्रष्टाचार जस्ता मुद्दामा सजाय पाई फरार प्रतिवादीसमेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक सञ्जयसिंह थापाले जानकारी दिए।
प्रहरीले पक्राउ परेकाहरुबाट ९ लाख ३५ हजार ३ सय १९ रुपैंयाँ जरिवाना असुल भएको जनाएको छ । प्रहरीले पक्राउ परेका सबैलाई अदालत बुझाएको जनाएको छ। सुनसरी प्रहरीका अनुसार जिल्लामा चार हजार २ सय जना फरार प्रतिवादी छन्।































प्रतिक्रिया