लिफ्ट दिएका व्यक्तिले अन्यत्रै लैजान खोजेपछि हाम्फालेकी किशोरी गम्भीर घाइते

लिफ्ट दिएका व्यक्तिले अन्यत्रै लैजान खोजेपछि हाम्फालेकी किशोरी गम्भीर घाइते

केन्द्रबिन्दु
0
Shares

बैतडीमा मोटरसाइकलबाट खसेर एक किशोरी घाइते भएकी छन्। जिल्लाको पाटन नगरपालिका ९ किचारकी १६ बर्षीया गोदावरी भट्ट गम्भीर घाइते भएकी हुन्।

सोमबार बिहान गौरा पर्वका लागि लुगाकपडा र श्रृंगारका सामान किन्न खोड्पे बजार पुगेकी गोदावरीलाई घर फर्किदा मोटरसाइकलमा लिफ्ट दिएका हरिश महराले अन्तै लग्न खोजेपछि उनले मोटरसाइकलबाट हाम फालेको उनका दाजु जनकराज भट्टले बताए। 

आफ्ना बुवा अर्जुन भट्ट र गाउँका अन्य किशोरीसँग खोड्पे पुगेकी गोदावरी बुवाभन्दा केही ढिलो घर फर्किँदा हरिशले आफैं लिफ्ट दिन्छु भनेर मोटरसाइकलमा चढाएको जनकले बताए। उनले भने, ‘बहिनीले बिचमा बुवा देखेपछि म यतै उत्रिन्छु भनेको रहेछ। तर उसले विजयपुरसम्म पुर्‍याइ दिन्छु भनेछ। विजयपुरबाट पनि बझाङतर्फ जाने रोडमा लग्न थालेपछि बहिनीले हाम फालिछन्।’

गोदावरीले मोटरसाइकलबाट हाम फालेपछि हरिश एक्लै भागेका बताइएको छ। हरिशको घर पनि पाटन नगरपालिका ९ कत्र्याकोटमा रहेको छ। गाउँकै चिनेजानेको मान्छेले मोटरसाइकलबाट अन्तै लग्ने प्रयासपछि गोदावरीले हामफालेको पारिवारका सदस्यले जनाएका छन्।

घाइते गोदावरीको अहिले धनगढीको माया मेट्रो हस्पिटलमा उपचार भइरहेको छ। उनको आईसीयूमा राखेर उपचार भइरहेको दाजु जनकले बताए। उनले भने, ‘बाहिरी देखिने चोट कम भए पनि बहिनीको भित्री अंगमा चोट छ। बेहोस अवस्थामा छ।’

पीडित परिवारले घटनाको छानविनका लागि खोड्पे प्रहरी चौकीमा निवेदन दिएका छन्। आफ्नो बहिनीले न्याय पाउनुपर्ने दाजु जनकको माग छ।

प्रहरीले चालक हरिश र मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। अहिलेसम्म मोटरसाइकलबाट हाम फालेर एकजना किशोरी घाइते भएको भन्ने जानकारी मात्रै आएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको ओझाको भनाइ छ।न्युज कारखानाबाट

Logo