जेठ ३१ यता बाढीपहिराेमा ८५ जनाको मृत्यु, ४४ वेपत्ता

जेठ ३१ यता बाढीपहिराेमा ८५ जनाको मृत्यु, ४४ वेपत्ता

केन्द्रबिन्दु
0
Shares

मनसुन सुरु भएयता (गत जेठ ३१ पछि) मुलुकभर मनसुनजन्य घटनामा ८५ जनाको मृत्यु भएको छ। उक्त घटनामा परी अन्य ४४ जना हराइरहेका गृह मन्त्रालयले जनाएको छ। अहिलेसम्म पाँच हजार ५०० भन्दा बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख होमकला पाण्डेले जानकारी दिइन्। 

गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापनसम्बन्धीे बैठकमा विवरण सार्वजनिक गर्दै उनले अहिलेसम्म विपदबाट ७० जिल्ला प्रभावित भएको जानकारी दिए।

आजमात्रै बाढीबाट ४०० जना प्रभावित भएको र उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ। आज तीन जनाको मृत्यु र तीन जना वेपत्ता भएका छन्। त्यस्तै १९ घरमा क्षति भएको जनाइएको छ। बाढी पहिराेले क्षति पुर्याएको ३८ जिल्लामा पुनःनिर्माण गर्न रु एक अर्ब ११ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ। 

महाशाखा प्रमुख पाण्डेले बाढी पहिराका कारण आज साना ठुला गरेर २९ सडक अवरुद्ध भएको जानकारी दिइन्। केही खुलेका र केही खुल्न बाँकी रहेका छन्। प्राप्त विवरणअनुसार यसपालिको वर्षाका कारण कैलाली, नवलपरासी, कञ्चनपुर, कैलाली, दाङ, रौतहट, रुपन्देही, महोत्तरी, कपिलवस्तु, चितवन, खोटाङ, सिन्धुली, बाजुरालगायत जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ।

वेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन 
गृहमन्त्री खाणले पछिल्लो समय देशभर आएको बाढी, पहिराका कारण बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार तथा राहत वितरण प्रभावकारी बनाउन निर्देशन दिएका छन्। बाढीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्ड, तुरिया र घोडाहा खोलामा रहेको दुई पुल भत्किएको तथा सडक अवरुद्ध भएको र त्यस स्थानमा तत्काल वेलिवृज बनाउन निर्देशन दिएका छन्। 

बाढी प्रभावित ४०० परिवारलाई सुरक्षित स्थानमा राख्न र तत्काल राहत तथा उपचारको ब्यवस्था मिलाउन पनि उनले निर्देशन दिए। प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न पनि उहाँले सबै सुरक्षा निकाय तथा मातहतका सम्बद्ध अधिकारीलाई निर्देशन दिए। अवरुद्ध राजमार्गमा सवारी साधन सञ्चालनका लागि वैकल्पिक उपाय अपनाउन पनि उनले आग्रह गरेका छन्। आजको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, सडक विभाग, जल तथा मौसम विज्ञान विभागका अधिकारीको सहभागिता थियो।

Logo