यी १३ देश, जहाँ मदिरामाथि प्रतिबन्ध लगाइएको छ

यी १३ देश, जहाँ मदिरामाथि प्रतिबन्ध लगाइएको छ


मदिरा सेवनसम्बन्धी विभिन्न नियमहरू संसारभर रहँदै आएका छन्। मदिरा सेवनका लागि न्यूनतम उमेर प्रायः देशहरूले तोकेका हुन्छन्। तर, संसारमा यस्ता केही देश र ठाउँहरू छन्, जहाँ मदिरामाथि प्रतिबन्ध लगाइएको छ। ती प्रायः मुस्लिमबहुल देश रहेका छन् । यी हुन् मदिरामाथि प्रतिबन्धित देशहरूः

१. यमन 

इस्लामिक राष्ट्र यमनमा मदिरामाथि पूर्ण प्रतिबन्ध लगाइएको छ। मदिरापान इस्लामका मूल्यमान्यताको विरुद्धमा भएकाले त्यस्तो प्रतिबन्ध लगाइएको हो। मुख्य सहर एडेन र सानाका केही होटलमा भने विक्री खुला गरिएको छ। साथै गैरइस्लाम विदेशी पर्यटकले आफ्ना लागि सीमित मात्रामा मदिरा बोकेर हिँड्न सक्छन्। 

२. युएइस्थित सार्जा

युनाइटेड अरब इमरेट्स (युएइ) मा कडा नियमनअन्तर्गत मदिरा किनबेच हुने गर्छ। युएइका तीन ठूला सहरहरूमध्ये एक सारजामा भने मदिरामाथि प्रतिबन्ध नै लगाइएको छ। मदिरा सेवनका लागि अनुमति पाएका गैरमुस्लिमहरूले मात्रै सारजामा मदिरा सेवन गर्न पाउँछन्। 

३. सुडान   

सन् १९८३ देखि उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानमा मदिराको उत्पादन, विक्री र प्रयोगमा प्रतिबन्ध रहँदै आएको छ। यद्यपि, प्रतिबन्ध मुख्यतः मुस्लिमहरूका लागि रहेको छ। गैरमुस्लिमले आफ्नो निजी ठाउँमा मदिरा पिउन सक्छन्। 

४. सोमालिया 

सोमालियामा पनि मदिराको उत्पादन, विक्री र खपतमा प्रतिबन्ध लगाइएको छ। गैरमुस्लिम र पर्यटकले मदिरापान गर्न पाउने भए पनि त्यो निजी स्थानमा मात्र गर्न सकिन्छ। 

५. साउदी अरेबिया

इस्लामको पवित्र ठाउँ मानिने मक्का रहेको साउदी अरेबियामा मदिरामाथि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। एयरपोर्टबाट प्रवेश गर्ने क्रममा पनि मदिरा ल्याइएको छ कि छैन भनेर राम्रोसँग जाँच गरिन्छ। मदिराको प्रयोग नगर्न साउदी सरकारले विदेशी पर्यटकलाई पनि सुझाएको छ। 

६. पाकिस्तान

स्वतन्त्र भएपछिका तीन दशकसम्म मदिरा खुला रहेको पाकिस्तानमा जुल्फिकर अलि भुट्टोको शासनकालमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ। मदिराको उत्पादन, विक्री र खपतमा मुस्लिमहरू संलग्न हुन नपाए पनि अल्पसंख्यक गैरमुस्लिमले अनुमतिका लागि आवेदन दिन सक्छन्। 

७. माउरीटानिया

अफ्रिकी मुलुक माउरीटानियामा मुस्लिमहरू मदिराको उत्पादन, विक्री र खपतमा मुस्लिमहरू संलग्न हुन पाउँदैनन्। यद्यपि, गैरमुस्लिमका लागि भने यो लागू हुँदैन। 

८. माल्दिभ्स 

पर्यटकीय स्थलका रूपमा ख्याति कमाएको माल्दिभ्समा स्थानीयहरूका लागि मदिरा बर्जित छ। मदिरा विक्रीका लागि पनि सीमित होटल तथा रिसोर्टहरूलाई मात्रै अनुमति दिइएको छ। 

९. लिबिया 

लिबियामा मदिराको उत्पादन र विक्रीमा कडा प्रतिबन्ध लगाइएको छ र भ्रमणका लागि आउने मानिसहरूलाई पनि स्थानीय काुननको सम्मान गर्न सुझाइएको छ। 

१०. कुवेत

कुवेतमा पनि मदिरा किन्न, बेच्न र बोक्न मनाही छ। नियम उल्लंघन गरे जेल सजायसम्म पनि हुने गरेको छ। मादक पदार्थ सेवन गरेर गाडी चलाउनुलाई पनि गम्भीर अपराध मानिन्छ। 

११. इरान

इरानमा स्थानीय मुस्लिमहरूका लागि मदिरा बर्जित छ। अन्य समुदायका मानिसलाई भने सर्तबन्दीमा मदिरा उत्पादन गर्न र पिउन अनुमति दिइएको छ। 

१२. ब्रुनाई 

सावर्जनिक स्थानमा मदिरा सेवन गर्न र विक्री गर्न ब्रुनाईमा प्रतिबन्ध लगाइएको छ। तर, गैरमुस्लिम पर्यटकले भने २ बोतल रक्सी र १२ क्यान बियरसम्म बोकेर ब्रुनाई प्रवेश गर्न पाउँछन्। 

१३. बंगलादेश

बंगलादेशमा स्थानीय मुस्लिमहरूका लागि मदिरा बर्जित छ। अन्य समुदायका मानिस र पर्यटकलाई भने सर्तबन्दीमा मदिरा पिउन छुट छ। 

 

Logo