बाग्लुङका बाढी प्रभावितका लागि डेढ करोड राहत संकलन

बाग्लुङका बाढी प्रभावितका लागि डेढ करोड राहत संकलन

केन्द्रबिन्दु
0
Shares

बाग्लुङ ।

ढोरपाटनका बाढी प्रभावितको राहतका लागि खडा गरिएको कोषमा हालसम्म एक करोड ६५ लाख सहयोग जुटेको छ । राहत वितरणमा एकद्वार प्रणाली कायम गर्न ढोरपाटन नगरपालिकाले कोष स्थापना गरेको थियो ।

कोषको रकम बाढीले उठिबास भएका परिवारको घर पुनःनिर्माणमा खर्च गर्ने नगरपालिकाको योजना छ । सहयोग आउने क्रम जारी नै रहेको नगरप्रमुख देवकुमार नेपालीले बताए । “राहत कोषमा जम्मा भएको रकमले दाताकै नाममा घर बनाइदिन्छौँ”, उनले भने, “सङ्घ र प्रदेश सरकारबाट पनि सहयोगको प्रतिबद्धता आएको छ, अपुग भएमा नगरपालिकाले बजेट थप्छ ।”

उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी गलकोट समाज जापानमार्फत २७ लाख ८० हजार सहयोग प्राप्त भएको छ । यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले पनि १९ लाख बढी राहत रकम प्रदान गरेको थियो ।

बिहीबार मात्र प्रभु बैङ्कले पाँच लाख सहयोग गरेको नगरपालिकाले जनाएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरप्रमुख नेपालीलाई पाँच लाखको चेक हस्तान्तरण गरेका थिए। बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि देश–विदेशमा राहत अभियान चलाइएको छ । कतिपय व्यक्ति, संस्थाले नगरपालिकाको कोषमा जम्मा नगरी बाढीग्रस्त ठाउँमै पुगेर राहत बाँडिरहेका छन् ।

गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परी २२ जनाको ज्यान गएको छ भने १५ अझै बेपत्ता छन् भने ढोरपाटन नगरपालिका–९, ८ र ७ का सयौँ परिवार घरबासविहीन बनेका छन् । सडक, पुल, खानेपानी, सिँचाइ, लघुजलविद्युत्, विद्यालय, सामुदायिक स्वास्थ्य एकाइ लगायत कैयौँ भौतिक संरचना क्षतिग्रस्त बनेका छन् ।

यसअघि गृहमन्त्री रामबहादुर थापा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, भौतिक योजना विकास मन्त्री रामशरण बस्नेत लगायतले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसँगै प्रभावित परिवारको दीर्घकालीन व्यवस्थापन गरिने प्रतिबद्धता जनाएका थिए।रासस

Logo