लगातारको वर्षाले हेलम्बु राजमार्ग पुनः अवरुद्ध

लगातारको वर्षाले हेलम्बु राजमार्ग पुनः अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ। मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले आग्रह गरे। गत साउन अन्तिमदेखि नै यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ।

पैराबारीका घर जोखिममा 

बाटो माथिबाट पहिरोसँगै ढुङ्गा खस्दा मेलम्ची–१० रामपुर पैराबारीका घर जोखिममा परेका छन्। गतवर्षदेखि नै पैराबारी ज्यामिरे बाटो खन्ने क्रममा ढुङ्गा खसेर बसेको र यस वर्ष पनि ढुङ्गा खस्ने क्रम जारी रहेको स्थानीयवासी प्रशान्त कार्कीले जानकारी दिए।

बाटोमुनि तीन भूकम्पपीडितको राहत घर र अन्य दुई घर रहेको उनले जानकारी दिए। ढुङ्गा खसेर दुर्घटना हुने डरले आनन्दले बस्न, सुत्न नसकिएको स्थानीयवासीको गुनासो छ। ढुङ्गा ठूलो रहेको र पहिरो पनि आइरहेको जानकारी पोहोरदेखि नै नगरलाई गराए पनि चासो नदिएको उनले दुःखेसो गरे। पानी पर्न थालेपछि घर छाडेर भाग्नुपर्ने अवस्था रहेकाले स्थानीयवासीले नगरको ध्यानाकर्षण गराएका छन्।रासस

Skip This
Skip This
Logo