संखुवासभा हत्याकाण्ड : एकीकृत रूपमा घटनाको अनुसन्धान गर्दै प्रहरी

संखुवासभा हत्याकाण्ड : एकीकृत रूपमा घटनाको अनुसन्धान गर्दै प्रहरी

केन्द्रबिन्दु
0
Shares

संखुवासभाको मादी नगरपालिका–१ का उम्लिङमा हत्या गरिएका ६ जनाकै शवलाई परीक्षणका लागि प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ।

हत्या घटनाको अनुसन्धान गर्न खटिएका जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले शवको प्रकृति मुचुल्का तयार गरेर घटनास्थलबाट शव आज दिउँसो धरान पठाएको केन्द्रविन्दुलाई बताए।

प्रहरीले शव संकलन हिजै गरेको थियो। घटना हिजो बिहान वा राति भन्ने अझै खुलेको छैन।

स्थानीयले हिजो बिहान अन्दाजी ९ः४५ बजे ९० वर्षीय बौद्धमान कार्की परिवारका ६ जनाको हत्या गरिएका अवस्थामा शवहरू यत्रतत्र देखेको खबर प्रहरीलाई गरेका थिए।

त्यसपछि घटनास्थल पुगेको प्रहरीले ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया नै कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय नाती विपीन कार्की र ५ वर्षीया गोमा कार्कीलाई मृत फेला पारेको थियो।

मृतक पार्वती घरभित्र, तेजबहादुर र कमला रोडको भित्तामा, रञ्जना खोलामा, विपीन र गोमा अन्दाजी एक किलोमिटर पर बारीमा मृत फेला परेको सुवेदीले बताए।

अनुसन्धान गर्दै प्रहरी 

कार्की परिवारका ६ जनाको हत्या भएको घटनालाई प्रहरीले गम्भीरताका अनुसन्धान थालेको छ।

अनुसन्धानका लागि घटनास्थलमा मादीमुल्खर्क प्रहरी चौकी, इलाका प्रहरी कार्यालय चैनपुर, जिल्ला प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालय धरान, रिजिनल इन्टेलिजेन्स ब्युरो (आरआईबी) प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली छन्।

अपराध अनुसन्धानमा तालिमप्राप्त दुईवटा कुकुरसमेत घटनास्थलमै रहेका छन्। घटनास्थल सुरक्षा गरेर विस्तृत अनुसन्धानमा प्रहरी टोली जुटेको एसपी भीम दाहालले बताए।

उनका अनुसार शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गर्ने काम भइरहेको छ।

अपराधमा संलग्न भएकाहरू नउम्किउन् भनेर संखुवासभाका सबै प्रहरी इकाइहरू तैनाथ छन्।
 

Logo