संखुवासभा सामुहिक हत्या: पाँच दिनदेखि प्रहरी र युट्युबरसँगै थिए अभियुक्त लोकबहादुर

संखुवासभा सामुहिक हत्या: पाँच दिनदेखि प्रहरी र युट्युबरसँगै थिए अभियुक्त लोकबहादुर

केन्द्रबिन्दु
0
Shares

गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका–१ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भयो। परिवार नै सखाप हुने गरि भएको सो हत्याकाण्डको अनुसन्धानको लागि नेपाल प्रहरीको पूर्ण शक्ति नै परिचालन भयो। अनुसन्धानको ५ दिनसम्म सामूहिक हत्यामा संलग्न हत्यारालाई प्रहरीले पत्ता लगाउन सकेको थिएन।

हत्यारा भने अनुसन्धानमा खटेका प्रहरीहरूलाई नै उल्टै अनुसन्धानमा सघाइरहेको जस्तो भूमिका खेलेर प्रहरीसँगै घुलमिल थिए। उनी थिए मृतक तेजबहादुर कार्कीका नजिकैका छिमेकी २५ वर्षीय लोकबहादुर कार्की। शुक्रबार अनुसन्धान टोलीले लोकबहादुरलाई नियन्त्रणमा लियो। उनलाई सुरुदेखि नै प्रहरीले शङ्काको घेरामा राखेको थियो। तर ठोस प्रमाण फेला नपरेका कारण उनलाई समयमै पक्राउ भने प्रहरीले गरेन। अन्तिममा आएर प्रहरीसँगै रहेका लोकबहादुर पक्राउ परे।

तेजबहादुरको शव सडक छेउमा लडिरहेको देख्ने पहिलो व्यक्तिसमेत उनै लोकबहादुर हुन्। घटनाको रिपोर्टिङका लागि पुग्नेहरू पत्रकार तथा स्थानीयले उनलाई खोजे। उनले घटनाबारे थुप्रै अन्तर्वातासमेत दिएका छन्।

‘बडाउ तेजबहादुरको दुश्मनी कोहीसँग थिएन’ एउटा अन्तर्वातामा उनले भनेका छन्, ‘गाउँघरमा त्यस्तो शंकाको मान्छे कोही छैन मेरो विचारमा। बडाउ एकदमै सहयोगी समाजसेवी हुनुहुन्थ्यो।’ तर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले ‘सुनचाँदी पैसा घरमै रहेछ भनेको छ नि? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘रिसइबीले नै हो कि जस्तो छ। यो घटना गम्भीर छ।’

एउटा परिवारको पुरै वंश सखाप हुने गरि भएको सामूहिक हत्याकाण्डले सबैको ध्यान तानेको थियो। यो क्रममा घटनास्थलमा पुगेका सञ्चारकर्मीहरूलाई समेत उनै लोकबहादुर कार्कीले सहजीकरण समेत गर्ने गर्दथे। यहाँसम्म कि उनले अनुसन्धान टोलीलाई खाना पकाउन पनि सघाइरहेका थिए। उनीहरूलाई सागसब्जी जुटाउन पनि सहयोग गरिरहेका थिए।

उनले बडाबाबु (तेजबहादुर कार्की) सहित ६ आफन्त गुमाउनु परेकोमा बिलौना गर्दै तेजबहादुर सामाजिक काममा अग्रसर भएर काम गर्ने व्यक्ति रहेको बताउँदै आएका थिए। घटना घटेको दिन मृतक तेजबहादुरलाई पहिलो पटक उनैले देखेर हल्ला गरेका थिए। अन्ततः तिनै लोकबहादुर सामूहिक हत्याकाण्डको दोषी बने। लोकबहादुर मृतक तेजबहादुरका साइनोमा भतिजा हुन्।

मृतकको घरदेखि करिब १ एक सय मिटरको दूरीमा अभियुक्त कार्कीको घर छ। तेजबहादुर सोमबार बिहान खेताला खोज्न निस्किएका बेला बाटो ढुकेर आक्रमण गरि हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ । उक्त घटना देखेपछि बडीआमा कमला, भाउजू रञ्जना, हजुरआमा पार्वता, भतिज दीपेन र भतिजी गोमा कार्कीको हत्या गरेको बयान दिएको अधिकारी बताउँछन्।

तेजबहादुरले आफूलाई हेपेर बोली व्यवहार गर्ने गरेकाले उनको ज्यान लिएको लोकबहादुरले बताएको जनाइएको छ। प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी लोकबहादुर शङ्काको घेरामा थिए। घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन्।

तर घरका अन्य सदस्य पनि आएपछि अरूलाई पनि मार्न बाध्य भएको भनेका छन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार आफन्त लोकबहादुलाई पक्राउ त गर्यो  तर, एक जनाबाट बिहान यस्तो घटना कसरी सम्भव भयो भन्ने प्रश्न उब्जिएको छ। आज प्रहरीले पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्दैछ। 

को हुन् लोकबहादुर ? 

हत्या अभियुक्त लोकबहादुरले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेको थिए। छिमेकी चन्द्रबहादुर थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि वर्ष दिन नपुग्दै गाउँमा फर्किएका थिए।

६ वर्ष अगाडि मलेसिया गए पनि १० महिनामा विदेश जाँदाको ऋणसमेत नतिरी फर्किएको थापाको भनाइ छ। त्यसको डेढ वर्षपछि पुनः वैदेशिक रोजगारीको लागि कतार पुगे। तर त्यहाँबाट पनि ९ महिना नपुग्दै घर फर्किए। राति कहिल्यै घरमा नबस्ने, कहिले राति घरबाटै हराउने, गाउँका बेकामे केटाहरूसँग बिनाकाम डुलिहिँड्ने लोकबहादुरका विशेषता रहेछन्। आमाको गत चैत २६ गते निधन भएपछि बुवा र भाइसहित तीन जना बस्दै आएका थिए।न्युज कारखाना

Logo