स्वास्थ्य मापदण्डको पालना गरेर जात्रा–पर्व मनाउन मेयर शाक्यकाे आग्रह

स्वास्थ्य मापदण्डको पालना गरेर जात्रा–पर्व मनाउन मेयर शाक्यकाे आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पूर्ण महानगरवासीलाई व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर जात्रा–पर्व मनाउन अपिल गरेका छन्।

विभिन्न गुठीसँग सम्बन्धित व्यक्तिहरुलाई कोभिडविरुद्धको खोप लगाउने कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘इन्द्रजात्रा नेपालको राष्ट्रिय पर्व हो। यसको पहिचान अन्तर्राष्ट्रियस्तरमा पनि छ। इन्द्रजात्रालाई सभ्य र स्वास्थ्य मापदण्डको पालना गर्दै व्यवस्थित ढंगले बनाउन सबैलाई अपिल गर्दछु,’ शाक्यले भने, ‘इन्द्रजात्रा व्यवस्थापन समितिको आग्रहमा हामीले ३ सय जनााई खोपको व्यवस्था गरेका छौँ। आवश्यक परे थपलाई पनि व्यवस्थापन गर्न तयार छौँ।’ 

शाक्यले विस्तारै महानगरवासी सबैलाई खोपको व्यवस्थापन गर्ने भन्दै कसैले पनि खोप लगाउन नपाइने हो कि भनेर आत्तिनु पर्ने अवस्था नरहेको बताए। ‘कोभिडपछि हामी जात्रा सार्वजनिकरुपमा मनाउन गइरहेका छौँ। जात्रालाई भव्यरुपमा मनाउनु पर्छ,’ शाक्यले भने, ‘यस्तो अवस्थामा अग्रपङ्तिमा रहेर जात्रा चलाउँदै आएका गुठियारलाई सचेत भएर स्वास्थ्य मापदण्डको पालना गरि आफू–आफू सचेत भएर मनाउन आग्रह छ।’

त्यसै अवसरमा २१४ वर्ष पुरानो नासः मन्दिरको उद्घाटन गर्दै प्रमुख शाक्यले सम्पदा संरक्षण र पुनर्निर्माणको अभियानमा महानगर निरन्तर लागि रहेको बताए। प्रमुख शाक्यको गृह वडा–२१ को सवल बहालमा रहेको उक्त मन्दिरको उद्घाटनपछि सम्वोधन गर्दै शाक्यले भने, ‘कला, संस्कृति र सम्पदाको संरक्षण र संर्वद्धनको अभियानमा हामी योजना बनाएर लागेका छौँ।’ 

उनले २०७२ सालको भूकम्पमा भत्केका काष्ठमण्डप, मठ मन्दिर, चैत्य, बहाललगायतका सम्पदा पुनर्निर्माणको अभियानमा काठमाडौं महानगरपालिका लागेको स्मरण गराए। उनले नास मन्दिर यो क्षेत्रको ऐतिहासिक सम्पदा रहेको पनि बताए । ‘यो तल्लो भेगलाई तल नै परेको ठाउँ भनिन्थ्यो, तर अहिले यो ठाउँले विकास गरि माथि आइसकेको बताए।

शाक्यले आर्थिक समृद्धि भएमा रैथाने थातथलोको घर बेचेर अन्यत्र जानु पर्ने अवस्था नआउने बताए। शाक्यले आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले आफ्नो तहबाट विकासका लागि कुनै कमी हुन नदिने भन्दै प्रदेशमा यही क्षेत्रका माननीय डाक्टर अजयक्रान्ति शाक्य मन्त्री भएको स्मरण गराए। 
    
कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री समेत रहेका कृष्णगोपाल श्रेष्ठले २०७२ सालको भूकम्पमा भत्केको काष्ठमण्डप, मठ मन्दिर, चैत्य, बहालहरू जम्मै अहिले महानगरका मेयर विद्यासुन्दर शाक्यको नेतृत्वमा पुनर्निर्माण भइसकेको बताए।

‘उहाँकै नेतृत्वमा काठमाडौंको भाषा बचाउन १ देखि ८ कक्षासम्म नेपालभाषामा पठन पाठन गराउने ऐतिहासिक कार्य भएको छ,’ श्रेष्ठले भने, ‘काठमाडौंमा अहिले आधुनिक दमकल, आधुनिक मेशिनहरू ल्याएर सरसफाइ गर्ने कार्यहरू भइरहेका छन्।’

नासः मन्दिर जिर्णाेद्घार कमिटीका अध्यक्ष लक्ष्मीनारायण पौडेलले उक्त मन्दिर नेपाल संवत् ९२७ अर्थात् विसंं १८६४ मा निर्माण भएको भन्दै हाल जिर्ण भइ भत्किने अवस्थामा पुगेकाले महानगरले हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको आर्थिक सहयोग र कमिटीको सक्रियतामा जिर्णाेद्घार गरेको बताए। कमिटीले दिएको जानकारी अुनसार महानगरपालिकाले ४८ लाख सहयोग गरेको थियो।

Skip This
Skip This
Logo