संखुवासभा हत्याकाण्ड: घटनास्थलबाट मोबाइल बरामद, लोकबहादुरका भाइ पनि छानबिनको दायरामा

संखुवासभा हत्याकाण्ड: घटनास्थलबाट मोबाइल बरामद, लोकबहादुरका भाइ पनि छानबिनको दायरामा


संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न देखिएका लोकबहादुर कार्की भाइ नरेश कार्की अनुसन्धानमा तानिएका छन्।

हत्या गरिएकी रञ्जना कार्कीको मोबाइल सेट हराएको थियो। अनुसन्धानका क्रममा घटनास्थलबाट नरेशको साथबाट हराएको मोबाइल सेट बरामद गरेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए। 

हत्याकाण्डमा दाइलाई सहयोग गरेको आशंकामा प्रहरीले नरेशमाथि छानबिन थालेको प्रहरी निरीक्षक खतिवडाले बताए। लोकबहादुरका भाइ नरेशमाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ। घटनाको अनुसन्धानका लागि १० जना प्रहरी टोली घटनास्थल उम्लिङ खोलागाउँमै रहेको उनले बताए।

गत २१ भदौमा उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो। प्रहरीले एकै परिवारका ६ जनाको हत्यामा संलग्न भएको आरोपमा उम्लिङ खोला गाउँकै लोकबहादुर कार्कीलाई पाँच दिनपछि पक्राउ गरेर सार्वजनिक गरेको थियो। 

हत्यापछि उम्लिङ खोला गाउँ पुगेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी रुगम कुँवर, संघिय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहाल र संखुवासभाका डिएसपी लालध्वज सुवेदीसहितको टिम घटनास्थल पुगेको थियो।न्युज कारखाना

Logo