काठमाडौं । वि.स २०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु यतिबेला उठने तरखरमा रहेका छन् । दरबारहरुको मौलिकताको अधिकम सुरक्षा हुने गरी पुनर्निर्माणको काम भइराखेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । काठमाडौंका ऐतिहासिक सिंहदरबार, केसरमहल, बालमन्दिर, बबरमहल लगायतका दरबारहरुको प्रवलिकरण विधि मार्फत पुनर्निर्माणको काम भइराखेको हो । ०७२ सालको भूकम्पबाट क्षति भएका सिंहदरबारको मूख्य प्रशासनिक भवनसहित काठमाडौंमा रहेका केसरमहल, बाल मन्दिर र बबरमहल दरबार विस्तारै उठने प्रक्रियामा छन् ।

दरबारहरुमा रहेका ऐतिहासिक पुरातात्विक सम्पत्तिहरुको मौलिकतामा कुनै क्षति नहुने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रवलिकरण विधिमार्फत पुनर्निर्माण गरिरहेको छ । प्राधिकरणकाअनुसार सिंहदरबारको मूख्य प्रशासनिक भवनको पूर्वपट्टीको भागको सम्पूर्ण कार्य आगामी मंसिर महिनाभित्रमा सम्पन्न हुनेछ । यो भवनको पुनर्निर्माणको काम सम्पन्न भए पनि फायर फाइटिङ, इन्टेरियर, ल्याण्डस्केपिङ र सुरक्षा लागयतको काम भइराखेको प्राधिकरणका आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले जानकारी दिए । यो भवनको कुल लागत भ्याट बाहेक ५५ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै सिंहदरबारको पश्चिमपट्टीको मोहडाको पुनर्निर्माणले पनि तीव्रता लिएको छ । यो भवन पनि प्रवलिकरण विधिमार्फत पुनर्निर्माण भइराखेको हो । ऐतिहासिक महत्वका वस्तुहरुलाई जस्ताको तस्तै जोगाउने गरी पुरानै निर्माण सामग्रीकोे प्रयोग गरी पुरानै विधिमार्फत काम भइराखेको विश्वकर्माले बताए । यो भवनको कुल लागत भ्याट बाहेक ५० करोड रुपैयाँ छ भने हालसम्म ३५ प्रतिशत प्रगति भएको छ । यो भवन २०७८ भदौ ५ गते भित्रमा सम्पन्न हुनेछ ।

त्यस्तैगरी केसरमहल दरबारको पुनर्निर्माण हालसम्म २० प्रतिशत सम्पन्न भएको छ । भ्याट बाहेक ५९ करोड ५० लाख रुपैयाँ बजेटमा पुनर्निर्माण हुन लागेको यो दरबार २०७८ मंसिर १२ गतेभित्रमा सम्पन्न हुनुपर्नेछ । बबरमहल दरबारको निर्माण कार्यमा पनि २० प्रतिशत प्रगति भएको प्राधिकरणका आयोजना उपनिर्देशक विश्वकर्माले जानकारी दिए । यो दरबारको कुल लागत भ्याटबाहेक ८६ करोड रुपैयाँ छ भने यसको पुनर्निर्माण २०७८ असार मसान्तसम्ममा सम्पन्न भइसक्नुपर्नेछ । साथै बालमन्दिरको पुनर्निर्माणमा पनि १५ प्रतिशत प्रगति भएको छ । भ्याट बाहेक कुल ५५ करोड रुपैयाँ लागतमा पुनर्निर्माण भइरहेको यो दरबार २०७८ मंसिर मसान्तसम्ममा सम्पन्न हुनेछ ।

चार वटै दरबारको पुनर्निर्माण हुँदा ऐतिहासिक पुरातात्विक कलाकृतिहरु नबिग्रने गरी पुरानै निर्माण सामाग्रीको प्रयोग गरिएको छ । सुर्कि, फलाम, चुना, काठ लगायतको प्रयोग गरेर पुरानै विधिबाट प्रवलिकरण गरिरहेको आयोजना उपनिर्देशक विश्वकर्माले बताए । पुनर्निर्माणको काम हुँदा राष्ट्रिय भवन निर्माण संहिताले मागेको सुरक्षा प्रत्याभुत हुने गरी प्रवलिकरणको काम भइरहेको पनि विश्वकर्माले बताए । पुरानै शैली, पुरानै निर्माण सामग्री, पुरानै पद्धति र पुरानै कलाकृतिलाई ‘जस्ताको तस्तै तर बलियो प्रशस्तै’ भन्ने सिद्धान्तबाट पुनर्निर्माणको काम भइरहेको उनको भनाइ छ । तर सिंहदरबारको पूर्वी मोहडाको पुनर्निर्माणमा भने छड र सिमेन्टको प्रयोग गरिएको छ । यसअघि वि.स २०३० सालमा आगलागीबाट क्षति भएपछि यो भवनको निर्माण सिमेन्ट र छडको प्रयोग गर्दै गरिएको थियो । त्यसैले अहिले पनि पर्खालकोभित्र र बाहिर ज्याकेटिङ प्रविधिमार्फत बाधेर प्रवलिकरण गरिएको उनको भनाइ छ ।

दरबारहरुको पुनर्निर्माण तोकिएको समयमा सम्पन्न हुनेमा भने कोभिड–१९ का कारण चुनौति थपिएको छ । निर्माण सामग्रीको नियमति आपूर्ति नहुँदा र देश बाहिरबाट निर्माण सामग्री ल्याउन नसक्दा समस्या भएको प्राधिकरणका आयोजना उपनिर्देशक विशवकर्माको भनाइ छ । यसबाहेक कोभिड कै कारण दक्ष कालीगढहरुको समेत अभाव भएको छ । तर पनि कालीगढहरुलाई अतिरिक्त काम गर्ने वातावरण तयार गरेर भए पनि समयमै सम्पन्न गर्ने योजनाका साथ काम गरिएको उनको भनाइ छ ।





























प्रतिक्रिया