ढालियो इन्द्रजात्राको लिङ्गोः राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण, जात्रा समापन

ढालियो इन्द्रजात्राको लिङ्गोः राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण, जात्रा समापन

केन्द्रबिन्दु
0
Shares

ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको  लिङ्गो गए राति १०: ३६ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपातन) छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो। गए राति इन्द्रध्वजपातन गरेसँगै आठ दिन लामो इन्द्रजात्रा समापन भएको हनुमानढोका हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।  
 
यसअघि गए राति नै राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार गई श्रीगणेश, श्रीभैरव र श्रीकुमारीबाट टीका एवं प्रसाद ग्रहण गरेकी थिइन्। टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत सम्पन्न भएको छ। दिउँसो महिलाले मात्र रथ तानी नानीचा यात्रा सम्पन्न गरिएको थियो। यो यात्रा इन्द्रजात्राको अन्तिम यात्रा हो।

इन्द्रजात्राका अवसरमा असोज ४ गते माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो। इन्द्रजात्राको मुख्य दिन असोज ३ गते आइतबार तल्लोटोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो। यस दिन राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रिगण, सांसदलगायत जनप्रतिनिधिले जात्रा अवलोकन गरेका थिए।

इन्द्रध्वजपातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकू दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ। लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा भाद्र शुक्ल द्वितीयाका दिन लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ। वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ। 

इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ। इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए। इन्द्रजात्राकै दिन पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय पाएको ऐतिहासिक तथ्य पनि छ।

वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको भदौ ३ गते आइतबार विधिपूर्वक पूजा  आजा पनि गरिएको थियो। जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच, पुलुकिसी नाच, रामचन्द्र नाचलगायत सांस्कृतिक झाँकी, नाचगान प्रस्तुत गरिएको थियो। 

इन्द्रजात्राको अन्तिम दिन शुक्रबार पनि हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गर्ने भक्तजनको भीड लागेको थियो। यस अवसरमा जीवित देवी कुमारीको दर्शन गर्ने भक्तजनको पनि भीड लागेको थियो।

Skip This
Skip This
Logo