दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला, विहानैदेखि टिकट लिनेको ताँती (फोटो फिचर)

दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला, विहानैदेखि टिकट लिनेको ताँती (फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

नेपालीहरूको महान पर्व दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरी जिल्ला जाने यात्रुको लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ।

काठमाडौं उपत्यकाबाट बाहिरी जिल्ला जाने यात्रुका लागि लक्षित गरी सरकारले प्रत्येक वर्ष दसैंका लागि अग्रिम बुकिङ खुला गर्दै आएको छ।

त्यहीअनुसार सोमबारदेखि दसैंमा घर जानका लागि लामो तथा मध्यम दूरीको बसको टिकट बुकिङ खुलेको हो।

सरकारले टिकट बुकिङ खुल्ला गरेसँगै नयाँ बसपार्कका काउन्टरमा टिकट काट्नेको बिहानैबाट भीड लागेको थियो ।  

कोरोना महामारीको कारण भीडभाड कम गर्न सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ११ ‘टिकट काउन्टर’ थप गरेको छ। 

नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ।

व्यवस्थापनले नयाँ वसपार्कमा टिकट काट्न जाने यात्रुहरूले सामाजिक दूरी कायम गर्दै लाइनमा वस्ने व्यवस्था गरिएको भनेको छ। 

टिकट लिन विगतको भन्दा राम्रो व्यवस्था गरे पनि भाडा बृद्धि भएकाले समस्या भएको यात्रुहरूले बताएका छन्।

दसैंको लागि बर्दिया जान अग्रिम टिकट काट्न आएका रमेश खड्काले दसैंमा नै भाडा बृद्धि भएकाले समस्या भएको बताए।

बसको भाडा बृद्धि हुँदा दसैंमा घर जाने विद्यार्थीहरू मर्कामा परेको उनले बताए । पहिले एक हजारमा वर्दिया पुगिने भए पनि अहिले भाडा बढेर १५ सय रुपैयाँ पुगेको उनको भनाइ छ।

सरकारले तोकेको भन्दा बढी भाडा यात्रुहरुबाट लिएको पाइए तत्काल कारबाही हुने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए । 

तस्विरः उत्सव वाग्ले

Logo