नेपालीहरूको महान पर्व दशैं मनाउन गाउँ जानको लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ।
सरकारले सोमबारदेखि दशैंमा गाउँ जाने नागरिकको लागि अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ।
नेपालका पश्चिमका जिल्लाहरूमा जाने यात्रुको लागि नयाँ बसपार्कमा टिकट काउन्टरसमेत थप गरेर व्यवस्थापन गरिएको छ।
तर, यता अरनिको यातायातले ‘लिड’ गरेका क्षेत्रमा जाने नागरिकले कहाँ गएर टिकट काट्ने भन्ने अन्यौल छ।
यसअघि पुरानो बसपार्कमा अरनिको यातायातको टिकट काउन्टर रहेको थियो। तर, काठमाडौं महानगरले खुल्लामञ्च खाली गराइ मञ्चलाई मौलिक प्रयोगमा ल्याउने भन्दै गत बैशाख १५ गतेदेखि पुरानो वसपार्क बन्द गरेको छ।
पुरानो बसपार्कबाट करीब ४० कम्पनीका ६ सय सवारी साधन सञ्चालनमा रहेका थिए । जसमध्ये करीव २७ वटा कम्पनी छोटो दूरीका र करीब १३ वटा कम्पनी मध्यम दूरीका रहेका थिए।
पुरानो बसपार्कमा टिकट काउन्टर नै राखेर चलेका मध्यम दूरीका गाडी गोङ्गबु बसपार्कबाट सञ्चालन गर्न दिने महानगरले त्यतिबेला भनेको थियो। तर, नयाँ बसपार्कमा पुरानो बसपार्कबाट छुट्ने १३ कम्पनीका यातायातको कतै पनि काउन्टर छैनन्।
नयाँ वसपार्कमा अरनिकोलगायतका १३ यातायात कम्पनी काउन्टर नहुँदा ती यातायातको टिकट काट्न कहाँ जाने भन्ने यात्रुलाई अन्यौल भएको छ।
सोमबार दशैंको लागि अग्रिम टिकट बुकिङ खुल्ला भएसँगै दशैंमा रामेछाप घर जान नयाँ बसपार्कमा अरनिको यातायातको काउण्टर होला भनेर पुगेका सेवाग्राही काउण्टर नहुँदा त्यसै फर्किएका छन्।
पुरानो बसपार्कबाट सबै काउन्टर हट्दा मुख्यतया रामेछाप, दोलखा, सिन्धुपाल्चोक र ओखलढुंगा सहितका जिल्लामा जाने बासिन्दाले दशैँको अग्रिम टिकट बुकिङका लागि सास्ती ब्यहोर्नुको साथै कहाँ गएर टिकट काट्ने टुंगो छैन ।
उता अरनिको यातायात सेवा समितिले टिकट काट्न भक्तपुरमा काउण्टरको बैकल्पिक व्यवस्था गरेको जनाएको छ ।
मध्यपुर ठिमी नगरपालिकाले बैकल्पिक काउण्टर सञ्चालनका लागि जग्गा उपलब्ध गराएकाले भक्तपुरको सिद्धार्थ पेट्रोलपम्म पछाडी बैकल्पिक व्यवस्था गरिएको अरनिको यातायात सेवा समितिका अध्यक्ष चित्र बहादुर कुँवरले जानकारी दिए।
उनका अनुसार सरकारले पुरानो बसपार्कबाट काउन्टर हटाए पनि अरनिको यातायातले आफै ठाउँ खोजेर काउन्टरको व्यवस्थापन गरेको हो।
उनले भने,‘मध्यपुर ठिमी नगरपालिकासँग जग्गाको माग गरेर हामी आफैँले टिकट वितरण गर्ने व्यवस्थापन तथा एक दुई वटा गाडी पनि त्यहीँबाट छुट्ने गरी बैकल्पिक व्यवस्था गरेका छौँ।’
सरकारले अरनिको यातायातमार्फत् रामेछाप, दोलखा, सिन्धुपाल्चोक जाने यात्रुको लागि टिकट काटेर आफ्नो गाउँसम्म नागरिकको लागि सहज रूपमा टिकट काटेर घर जाने वातावरण बनाउन जरूरी रहेको छ। हामीले बनाउन लागेको बैकल्पिक व्यवस्था मात्रै भएको उनको भनाइ छ।
अरनिको यातायातलाई गाडी राख्ने बसपार्क पनि नभएको र सहज पहुँचमा काउण्टर पनि नभएकाले टेलिभिजनमा सूचना प्रसारण गरेको अध्यक्ष कुँवर बताए।
उनले काउण्टरको ठेगानासहित ‘अरनिको यातायात सेवा समितिको सूचना’ भनेर सेवाग्राहीको सहजताका लागि टी.भी.मा सूचना बजाउने व्यवस्था मिलाईएको समेत बताए।
तर, कुँवरले दशैंमा घर जाने यात्रुको लागि अरनिको यातायात काउन्टर र बसपार्क बिना नै समितिले जसरी पनि बस उपलब्ध गराउने र घर जान कसैलाई पनि बसको अभाव हुन नदिने प्रतिवद्धता जनाए।
जनप्रतिनिधिसँग आक्रोश
अध्यक्ष कुँवरले रामेछाप,दोलखा,सिन्धुपाल्चोक लगायतका जनप्रतिनिधिसँग आक्रोश पोखेका छन् ।
उनले आफ्नो जिल्लामा चल्ने गाडीले काठमाडौँमा बसपार्क नपाएको विषयमा यस क्षेत्रका सांसदहरू कसैले पनि केही नबोलेको भन्दै संसदहरू प्रति आक्रोश पोखे।
उनले भने,‘ आफ्नो क्षेत्रका नागरिक कहाँबाट गाडी चढेर घर जान्छन्। संसदहरूको चासोको विषय हो। तर,यो प्रति कसैले पनि एक शब्द नबोलेकाले अहिले बसपार्क तथा काउन्टरको अभाव भएको छ।’
उनका अनुसार अरनिको यातायातका गाडी दोलखा, रामेछाप, सिन्धुपाल्चोकमा बढी चल्छन्। तर,अरनिको यातायातका गाडी राख्ने बसपार्क छैन, यात्रुले सजिलै काउण्टर भेट्न सक्दैनन्।
उनले भने, ‘आफ्ना नागरिक चढ्ने गाडीले बसपार्क नपाएको विषयमा किन कोही बोल्दैनन् ? सांसदलाई भोट मात्रै चाहिने हो ? दशैँमा आफ्ना क्षेत्रका जनतालाई सहज तरिकाले गाउँ जाने वातावरण मिलाउन पर्दैन ? जीपछिरिङ लामा अस्तिसम्म के के न गर्छु भन्थे, अहिले कता छन्।’भन्दै प्रश्न समेत गरे।































प्रतिक्रिया