सुदूरपश्चिममा प्राकृतिक विपदबाट ३० जनाको मृत्यु, सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

सुदूरपश्चिममा प्राकृतिक विपदबाट ३० जनाको मृत्यु, सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

केन्द्रबिन्दु
0
Shares

अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी सुदूरपश्चिम प्रदेशमा आज बिहानसम्म ३० जनाको मृत्यु भएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरो, डुबानमा परी डोटीमा १५, बैतडीमा चार, डडेलधुरामा दुई, बझाङमा आठ र कैलालीमा एक जनाको मृत्यु भएको छ। यस्तै विपदमा परी घाइते हुने १६ जना पुगेका छन्। डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङमा एक गरी १६ जना घाइते भएका छन्। 

डोटीमा विपदमा परी मृत्यु हुने थप व्यक्तिमा बड्डीकेदार गाउँपालिकाका ५० वर्षीया चनरीदेवी नेपाली, जोरायल गाउँपालिकाका १५ वर्षीय पुस्कर विक, शिखर नगरपालिकाका २६ वर्षीया मन्धरा बलायर र सायल गाउँपालिकाका ७४ वर्षीय वीरे रोकाया छन्।

यस्तै बझाङको खप्तडछान्ना गाउँपालिकाका ४९ वर्षका बिरु गिरी, ४५ वर्षीया चन्द्रदेवी गिरी, ४८ वर्षका धर्म रोकाया, ४५ वर्षीया जैसरादेवी रोकाया, ६८ वर्षीय रने आग्री, थलारा गाउँपालिकाका छ वर्षीय आयुस पार्की र सात वर्षका विकास पार्कीको पनि मृत्यु भएको पुष्टि भएको छ। 

 विपदमा परी बझाङमा २१ र बैतडी, कैलाली, डोटी जिल्लामा एक/एक गरी २४ बेपत्ता भएका छन्। बझाङको थलारामा गएको पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्य भइरहेको छ। उक्त ठाउँमा नेपाली सेनाको हेलिकोप्टरमार्फत ४० जनाको टोली घटनास्थलमा खटिएको छ। पहिरो गएको ठाउँबाट दुई जनाको शव निकालिएको छ।

पहिरोका कारण बझाङमा १२, डोटीमा तीन र डडेल्धुरामा दुई गरी १७ घरमा पूर्णरुपमा क्षति पुगेको छ। विपदमा परी बाजुरा, डोटी, डडेलधुरा, बझाङ, जिल्लामा पशु चौपाया पनि मरेका छन्।

यता कैलाली र कञ्चनपुर जिल्लामा भएको डुबानका कारण विस्थापित भएका परिवारलाई नेपाली सेना र प्रहरी टोलीद्वारा सुरक्षित स्थानमा सारिएको छ। कैलालीको जानकी गाउँपालिका–९ को वन क्षेत्रमा कर्णालीको बाढीका कारण फसेका प्रेम चौधरी र रामदयाल चौधरीको नेपाली सेनाको हेलिकोप्टरबाट बुधवार सकुशल उद्धार गरिएको छ।

सुदूरपश्चिमलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

गृहमन्त्री बालकृष्ण खाणलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले बुधबार भेट गरी सुदूरपश्चिम प्रदेशमा चार दिनदेखिको बाढी पहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले उक्त क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ।

सुदूरपश्चिम प्रदेशका मन्त्री दीर्घ सोडारी, सांसद शेरबहादुर कुवँर, पूर्वसांसद हर्कबहादुर सिंह, पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी तथा नागरिक समाजका प्रतिनिधि सूर्य श्रेष्ठ, रमण श्रेष्ठ, वीरेन्द्र भण्डारी, धनबहादुर ओलीलगायतले भेट गरी सुदूरपश्चिम प्रदेशमा बाढी–पहिराले ठूलो क्षति गरेका कारण राहत तथा उद्धारका लागि तत्कालै राज्यका सबै निकायलाई परिचालन गर्न माग गरेका हुन्।

Skip This
Skip This
Logo