मनाङकाे एउटा गाउँ, जहाँ घाँस काट्न पनि साइत हेरिन्छ

मनाङकाे एउटा गाउँ, जहाँ घाँस काट्न पनि साइत हेरिन्छ

केन्द्रबिन्दु
0
Shares

फू गाउँकी पाल्मा साङ्गे घाँस काट्न क्याङ झरेकी छिन्। यसपाली लामाले पात्रो हेरेर घाँस काट्ने साइत निकालेका छन्। गोठमा भएका पशुवस्तुलाई हिउँदको जोहो गर्न उनी बेंसी झरेकी हुन्। फू बासी बढी हिउँ पर्न थालेपछि क्याङ झर्छन्। क्याङ फूभन्दा न्यानो छ। 

‘घाँस काट्ने ठाउँ नै छैन। अर्काको खेतमा काट्न पाइँदैन। अहिले त समय नै नराम्रो परेको छ। वनमा घाँस पलाएन,’ घाँस काट्दै गर्दा भेटिएकी साङ्गे भन्छिन्, ‘हिउँ नपरे त ठिकै हुन्थ्यो। हिउँ पर्‍यो भने वस्तुहरू भोकै मर्छन्।’

दुई दिन काटेको घाँसले हिउँदभरीलाई पुर्‍याउनु पर्छ। हुन त बेंसीमा चरन क्षेत्र छुट्याइएको छ। बर्खाका बेला बेशीमा वस्तु झार्न प्रतिवन्ध छ भने हिउँद लागेपछि गाउँमा उकाल्न पाइँदैन। मनाङको विकट र उत्तरी गाउँहरू नार र फूमा घाँस र बालीनाली काट्न साइत हेर्नुपर्छ। 

लामाले पानी नपर्ने र मौसम उघ्रिएको समयमा पात्रोबाट उपयुक्त मिति निकाल्छन्। लामाले तोकेकै मितिभित्र घाँस र बाली भित्र्यासक्नु पर्छ। घाँस काट्न धेरै खेत हुनेले चार दिन समय पाउँछन् भने कम हुनेले दुई दिनमै सिध्याउनु पर्छ।

तल्लो क्षेत्रमा जस्तो ना र फू गाउँमा मन लागेका बेला घाँस काट्न र बाली भित्र्याउन पाइँदैन। प्रायः भदौको अन्तिमतिर यो काम गर्ने समय निकालिने नार मेताका स्थानीय मिङमर फुन्चो लामाले जानकारी दिए। 

‘घाँस नकुहिने समय हेरिन्छ। काटेको घाँस बटारेर राख्ने हो। महिनौंसम्म राख्दा कुहिन सक्छ,’ उनले भने, ‘समय हेराएर काट्यो भने कुहिँदैन। हिउँदमा वस्तुले मिठो मानेर खान्छन् ।’ यो समय निकाल्न ढावाशेर्पा नामको छुट्टै समिति गठन भएको छ। सात सदस्यीय समितिमा लामासहित गाउँलेहरू हुन्छन्।

‘लापरबाही नहोस् भनेर यस्तो गरेका हौं। अरु पनि पात्रो हेरेर काट्छन् । नारमा भन्दा फूमा यो नियम झन् कडा छ,’ उनले थपे, ‘मन लाग्यो भनेर जतिखेर पनि काट्न पाइँदैन।’ 

फूका मान्छेहरू हिउँदमा क्याङ झरे जस्तै नारका गाउँलेहरू च्याखु र मेतामा झर्छन्। कोही व्यापारका लागि शहर पुग्छन्। ‘माथिल्लो क्षेत्रका घाँस बर्खामा खाइसक्छ। हिउँदको लागि चरन क्षेत्र बेशीमा तोकेको हुन्छ,’ अर्का स्थानीय छोर्तेङछोवाङ लामाले भने, ‘दुईवटै गाउँको सीमामा गेट लगाएका छन्। पशुवस्तु गेट कट्यो भने समूहले कारबाही गर्छ।’ 

उनका अनुसार कुनै पशु महेन्द्रपुल कट्यो भने पाँच सय रुपैंयाँ प्रतिगोटा जरिमाना तिर्नुपर्छ भने पुल नकटेको भए तीन सय रुपैयाँ लाग्छ। जरिमाना लिने गोठालेको समूह बनेको छ। उक्त समूहले भनेको मानेनन् भने युवा क्लव र आमा समूहलाई उजुरी गरिन्छ। 

मुस्ताङ, डोल्पालगायतका जिल्लामा बाली लगाउने समयलाई साकालाका नामले चिन्छन्। त्यो दिन सबै गाउँले मिलेर रमाइलो गरी अन्नको बिउ राख्ने गरिन्छ। ना र फू गाउँमा पनि यसै गरी अन्नबाली लगाउने साइत छ।

तिब्बती पात्रोअनुसार बाली लगाउने र थन्क्याउने साइत निकालिन्छ। अब फू र नारका बासिन्दाहरू विस्तारै बेशी झर्न थाल्छन्। कात्तिकदेखि चैतसम्म बेशीमा बस्छन्, हिउँ पर्न कम हुन थालेपछि गाउँ उक्लिन्छन्। 

जनसंख्याका हिसाबले यो गाउँपालिका सबैभन्दा सानो हो। धेरैजसो रोजगारी र अध्ययनका लागि बाहिरिएपछि गाउँ रित्तिँदै गएको छ। नार र फू गाउँमा पढ्नका लागि कक्षा ३ भन्दा माथिल्लो स्कुल छैन। कक्षा ३ सम्म पढ्ने विद्यार्थीसमेत नपाएर विद्यालय बन्द गर्नुपर्ने अवस्था छ।

Skip This
Skip This
Logo