करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ वर्षीय चित्रबहादुर राना मगरको परिवारलाई विद्युत् व्यवस्थापन समितिले १६ लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । विद्युत् व्यवस्थापन समितिको लापरबाहीका कारण मृत्यु भएकाले २५ लाख रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै आफन्तले शव बुझ्न मानेका थिएनन् ।
ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च दुलेगौँडाले मृतकका परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने गरी शुक्रवार सहमति गरेको हो । सहमति भएसँगै शव दमौली अस्पतालमा पोष्टमार्टम गरी नागढुंगा शवदाह गृह बेलचौतारामा अन्त्येष्टि गरिएको छ ।
समितिले एक लाख रुपैयाँ किरिया खर्च बापत आइतबार उपलब्ध गराउने सम्झौता गरेको छ । बाँकी १५ लाख रुपैयाँ २५ पुसभित्र उपलब्ध गराउन सहमत भएको हो । यस्तै, घाइतेको उपचार र यातायात खर्च पनि समितिले व्यहोर्ने भएको छ । बिहीबार बिहान ४ बजे ट्रान्सफर्मरमा आगलागी हुँदा गाउँमा हाइभोल्टेज करेन्ट प्रवाह भएको थियो । बिहान ७ बजे चित्रबहादुर आफ्नै कोठामा हातमा मोबाइल लिइरहेको अवस्थामा अचेत भेटिएका थिए । स्थानीयका अनुसार उनको दाहिने हात, मोबाइल र चार्जर समेत जलेको थियो । उपचारका लागि बेलचौतारास्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
करेन्ट लागेर दुरुङचुङका थप दुई जना घाइते भएका थिए । उपचारपछि घाइते दुवै निको भएका छन् । विद्युत् व्यवस्थापन समितिको लापरबाहीले ट्रान्सफर्मरमा फ्युज नराखि करेन्ट प्रवाह गर्दा घटना भएको स्थानीयको आरोप छ ।































प्रतिक्रिया