कार्तिक पूर्णिमामा धनुषा र सिरहा जोडने कमला नदीमा लाग्ने भूत मेला हेर्न जाँदै गरेका दुई जना तीर्थालुको ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ। सोही दुर्घटनामा १८ जना घाइते भएका छन्।
बिहीबार साँझ करिब ५ बजे धनुषाको विदेह नगरपालिका–७ बेलापट्टीमा पुलमा ओभरटेक गर्ने क्रममा अनटेस्ट नेपाली नम्बरको ट्याक्टर पल्टिँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको हो। मृत्यु हुनेमा भारत विहार राज्यको सितामाढी जिल्ला बेला थाना एकरहियाका ५० वर्षीय रामदयाल यादव र सोही स्थानका ४५ वर्षीया अस्मिता देवी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको हाे।
घाइते १८ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ट्याक्टर महोत्तरीको भए पनि त्यसमा सवार अधिकांश तीर्थालु भने भारतीय रहेको धनुषाका प्रहरी उपरीक्षक वसन्तकुमार रजौरले बताए। घटना भएलगत्तै चालक फरार भएको उनले बताए।
घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुर र रामजानकी हस्पिटलमा उपचार भइरहेको उनले बताए। घटना विषयमा थप अनुसन्धान भइरहेको र फरार चालकको खोजी भइ रहेको उपरीक्षक रजौरले बताए।





























प्रतिक्रिया