राष्ट्रिय जनगणना २०७८ कुनै पनि प्रकारको अवरोध बिना सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
केन्द्रीय तथ्यांक विभागले शुक्रवार पत्रकार सम्मेलन गर्दै कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ बिना कुनै अवरोध सम्पन्न भएको बताएको हो । राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंकाहरु सामाजिक सञ्जालमा उब्जिएको भए पनि विभागले सम्बन्धित पक्षहरूसँग छलफल गरी जनगणना कार्यलाई अगाडी बढाएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए ।
महानिर्देशक श्रेष्ठले नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको हाराहारीसम्म पुग्ने अनुमान गरिएको बताए । जिल्ला जनगणना कार्यालयबाट मंसिर मसान्तसम्ममा जिल्लाको विवरण केन्द्रमा आउने भन्दै उनले केन्द्रीय तथ्यांक विभागले विवरण इन्ट्रि गर्न ६ देखि ८ महिना लाग्ने जानकारी दिए । एक वर्षपछि जनगणनाको रिपोर्टहरू निकाल्न सुरु गर्ने र दुई वर्ष भित्रमा सम्पूर्ण जनगणनाको सम्पूर्ण क्रियाकलाप सम्पन्न गर्ने उनको भनाई छ ।
जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनाभित्र आउने महानिर्देशक श्रेष्ठले बताए । उनले भने – ‘सबैको लेखाजोखा गर्दा खेरी पहिलेको प्रोजेक्टर गरिएको जनगणनाको ३ करोडको हाराहारीको जनसंख्या हो । त्यसको लगभग आसपासमा हामी पुगौँला नभए २ करोड ८० लाख सम्म पुग्छ कि भन्ने अहिलेको प्रारम्भिक अनुमान मात्र हो । यसको इन्ट्रि भइसकेपछि त थाहा हुन्छ, यद्यपि जनगणना सम्पन्न भएको मंसिर मसान्तसम्ममा सबै जिल्ला जनगणना कार्यालयबाट केन्द्रमा आउँछ । केन्द्रमा आइसकेपछि हामीले तथ्यांक इन्ट्रि गर्ने काम गर्छौ । डाटा इन्ट्रि गर्न छ देखि ८ महिना लाग्ने अनुमान गरेका छौँ । डाटा इन्ट्रि सकिएपश्चात् त्यसको रिपोर्ट निकाल्ने क्रम जारी गर्छौ । आजको एक वर्षपछि मात्र नेशनल रिपोर्टदेखि डिटेल्स् रिपोर्टहरू निकाल्ने क्रम जारी हुँदै जान्छ । यो सँगसँगै अबको दुई वर्षमा हाम्रो सेन्सरको इक्टीभिटिज सबै कम्प्लिट हुन्छ । नेपालको जनसंख्याको प्रारम्भिक नतिजा आजको मितिले तीन महिनाभित्र दिन सक्छौँ ।’
महानिर्देशक श्रेष्ठले केही गणकहरूले जनगणनाको समयमा पेन्सिलको प्रयोग गलत नियतले नगरी सुपरिवेक्षकलाई राम्रो अक्षर देखाउनका लागि गरिएको उनले । दुर्गम र पुग्न कठिन ठाउँहरूमा पनि गणकहरुले जनगणना गरेको उनले बताए । गणकहरू तिङ्कर र छारुङसम्म पुगेर जनगणना गरेको उनले उल्लेख गरे । महानिर्देशक श्रेष्ठले बताए– ‘मुख्य गणनाको सन्दर्भमा पास उपलब्ध भएको अवस्था रहेन । नरहेपछि हाम्रा साथीहरू मान्छे हिँड्ने बाटो नै होइन, जंगल नै जंगलको बाटोमा तीन दिन लगाएर रुखका हाँगाहरू समातेर माथिसम्म पुग्नुभयो । तिङ्कर र छारुङमा पनि सम्पन्न गर्नुभयो । बाटोबाट आफै फर्किन सक्ने अवस्था थिएन । हिजो उहाँहरूलाई हेलिकप्टरबाट सदरमुकाम खलंगा ल्याउने काम सम्पन्न गर्यौँ ।’
केन्द्रीय तथ्यांक विभागले देशभरका सम्पूर्ण भू–भागमा जनगणना सम्पन्न गरिसकेको बताएको छ । केही विवादित क्षेत्रहरूमा भने कूटनैतिक पहल गरी छिट्टै गणना सम्पन्न गर्ने जनाएको छ ।































प्रतिक्रिया