अझै गति लिएन छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो निर्माणले

अझै गति लिएन छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो निर्माणले

केन्द्रबिन्दु
0
Shares

व्याँस गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी निर्माण सुरु गरिएको घोरेटो बाटोको कामले गति लिएको छैन । व्याँसीवासीलाई आफ्नै भूमि भएर आवतजावत गर्न गोरेटो  निर्माणको लागि ठेक्का भए पनि अहिलेसम्म कामले भने गति लिएको छैन । 

नेपालतिर बाटो नहुँदा व्याँस गाउँपालिका–१ छाङ्गरु, तिङ्कर, व्याँस –२ को दुम्लिङ, कल्जु, माललगायतका गाउँका स्थानीय आफ्नै भूमि भएर आवतजावत गर्न समस्यामा परेका छन् । दुई वर्षदेखि यहाँका नागरिकले भारतीय भूमि भएर आवतजावत गर्नुपरेको छ । व्याँस–२ दुम्लिङदेखि छाङ्गरुसम्मको ३० किलोमिटर घोरेटो  निर्माणका लागि सम्झौता भएको आठ महिनासम्म पनि निर्माणको कामले गति लिन सकेको छैन । संघीय सरकारको पाँच करोड रुपैयाँमा बोलपत्र आह्वान गरेकामा कूल तीन करोड ३२ लाख रुपैयाँ लागतमा पुष्पाञ्जलि रिठगडे निर्माण सेवा दार्चुलासँग गत वैशाखमा ठेक्का सम्झौता भएको छ । 

विसं २०७७ फागुनमा बोलपत्र भई २०७८ वैशाखमा निर्माण कम्पनीसँग घोरेटो निर्माणका लागि दुई वर्षको सम्झौता भएको छ तर ठेकेदारले समयमै काम नगर्दा यो पटक व्याँसीले कुञ्चा सर्दा भारतीय बाटोको प्रयोग गर्नुपरेको व्याँसका स्थानीयवासी विमल बोहराले जानकारी दिए । आफ्नै भूमि भएर बाटो नहुँदा व्याँसको छाङ्गरु तिङ्कर पुग्ने नागरिकले सास्ती भोग्नुपरेको छ । व्याँसी सौका समुदाय छ महिना खलङ्गा तथा छ महिना छाङ्गरु र तिङ्करमा बसाई सर्ने गर्दछन् । हिउँद सुरु हुने बित्तिकै सौका समुदायका मानिस लालाबालासहित खलङ्गा झर्ने गर्दछन् । नेपालबाट बाटो नभएकै कारण उनीहरु भारतको बाटो प्रयोग गर्दै आइरहेका छन् । भारतको बाटो प्रयोग गर्दै खलङ्गासम्म आउन उनीहरुलाई भारतीय सुरक्षाकर्मीले विभिन्न बाहानामा ठाउँ ठाउँमा दुःख दिने गरेको बताइएको छ  ।

बाटो निर्माणका लागि पत्रकार शङ्करसिंह धामीले सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घ सोडारीको ध्यानाकर्षण गराएका छन् । प्रदेश गौरवका योजनाको अनुगमनको लागि दार्चुला पुगेका मन्त्री सोडारीलाई सरकारले व्याँसलाई विशेष क्षेत्रमा राखे पनि नागरिक हिँड्नसमेत बाटो बनाउन नसकेको जनाउँदै धामीले ध्यानाकर्षण गराएको बताए । उनले भने “नेपाली सेनाले साढे ४०० मिटर गोरेटो बाटो बनाइदिएको थियो । ” अहिले त्यही बाटो अवरुद्ध हुँदा पनि मर्मतको काम अघि बढ्न सकेको छैन । यसमा तीन तहको सरकारको ध्यान जानुपर्छ । 

निर्माण व्यवसायी मानबहादुर बमका अनुसार जिरो पोइन्टदेखि दुई÷तीन किलोमिटर घोरेटो बाटो निर्माण गरे पनि गत भदौमा आएको बाढी र पहिरोले सबै बगाएर लगेको दाबी गरेका । अहिले बयली, दोपाखे र पोला भन्ने ठाउँमा घोरेटो बाटो निर्माणको काम थालिएको निर्माण उनले बताए । वर्षा तथा कोरोना सङ्क्रमणका कारण भएको लकडाउनले काममा ढिलाइ भएको उनको भनाइ छ । 

तीस किलोमिटर घोरेटो बाटोको कल्जु, बुदी, सगनाडी र अपि भन्ने ठाउँका खोलामा पुल निर्माण गर्नुपर्ने जनाइएको छ । घोरेटोबाट तीव्रगतिमा निर्माण गर्न विष्फोटक पदार्थको अभाव रहेको निर्माण व्यवसायी बमले बताए । आवश्यक विष्फोटक पदार्थ उपलब्ध गराईदिन भन्दै जिल्ला प्रशासनमा निवेदन दिएको छु उनले बताएका छन् ।

घोरेटो  निर्माण गर्नुपर्ने ठाउँमा कडा चट्टानी भू–भाग रहेको भन्दै चट्टान तोड्न विष्स्फोटक पदार्थ आवश्यक रहेको निर्माण व्यवसायीबमले  गुनासो गरेका छन् । यस्तै भारतले सडक निर्माणका क्रममा कल्जुभन्दा माथिल्लो क्षेत्रमा विष्फोट गराएको ढुङ्गा नेपालपट्टि आएर बढी क्षति भएको जनाइएको छ ।रासस 
 

Logo