खोटाङको त्रि-धार्मिक स्थल हलेसीमा दुई वर्षपछि बालाचतुर्दशी मेला लागेको छ। कोभिड-१९ को महामारीका कारण गत वर्ष स्थगित गरिएको बालाचतुर्दशी मेला यसपटक लागेको हो। हलेसीमा कोभिड सुरू भए यताकै ठूलो मेला लागेको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए।
बालाचतुर्दर्शीको अवसरमा हलेसीमा बिहीबारदेखि नै ठूलो मेला सुरू भएको छ। बालाचतुर्दर्शीका दिन हलेसीमा आफ्ना दिवंगत आफन्तको सम्झनामा शतबिज छर्नका लागि दर्शनार्थीको बाक्लो भिड लागेको थियाे। मेला भर्न तथा दर्शन गर्नका लागि हलेसीमा जिल्लाभित्र तथा बाहिरका हजारौं दशानार्थीको घुइँचो लागेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
हलेसीमा बालाचतुर्दशी मेलाको अगाडि र पछाडि गरी हप्ता दिनसम्म मेला लाग्ने गरेको छ । कोभिडका कारण ८ चैत २०७७ देखि १६ मंसिर २०७७ तथा चालु आर्थिक वर्षको १५ वैसाखदेखि २७ भदौसम्म हलेसी बन्द गरिएको थियो।
भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराँती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसंभवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङ स्थल रहेको लगायतका आधारमा हलेसीलाई त्रि-धार्मिकस्थल मान्ने गरिएको छ।
मेलाका लागि सार्वजनिक बिदा
बालाचतुर्दशी मेलाको अवसरमा हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा पर्ने हलेसीमा लाग्ने मेलालाई लक्षित गर्दै नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको हो।
हिन्दु, किराँत र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा लाग्ने मेलाई थप बृहत बनाउनका लागि नगरपालिकाले प्रत्येक मेलाको अवसरमा सार्वजनिक बिदा दिँदैआएको छ।
यस्तै, बालाचतुर्दशी मेलाकै अवसरमा रावाबेँसी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको छ। रावाबेँसी गाउँपालिका-६ हौंचुरको जुडी महादेवस्थान मन्दिरमा लाग्ने मेलालाई लक्षित गर्दै गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिएको हो।































प्रतिक्रिया