चिसो बढेसँगै जाडो छल्न बेँशी झार्दै भेडीगोठ

चिसो बढेसँगै जाडो छल्न बेँशी झार्दै भेडीगोठ

केन्द्रबिन्दु
0
Shares

चिसोबढेसँगै बझाङका भेडापालक जाडो छल्न बेँशी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँशीतर्फ झार्न थालिएको हो । बझाङको साइपाल, सुर्मा, छविसपाथीभेरा र तल्कोट गाउँपालिका तथा बुङ्गल नगरपालिकाका भेडापालक चरनका लागि वर्षायाममा लेकतिर जाने र हिँउदमा बेँशी झर्ने गर्दछन् । 

चार हजार मिटरभन्दा अग्लो पाटनमा भेडा चराउनु यस क्षेत्रका भेडापालकको दिनचर्या भएको र चिसो बढेकाले मङ्सिरमै बेँशीतिर झर्न थालेका हुन् । बुङ्गल नगरपालिका– २ लौनेका किशोर धामीले आफ्ना डेढसय भेडा लिएर जाडो छल्न बेँशी झरेको बताए । भेडा चराउने गरेको हिमाली पाटनमा चिसो बढ्न थालेपछि सँगै गएका अन्य भेडापालक बँेशी झरेको उनको भनाइ थियो । 

धामीसँगै सोही गाउँका नरबहादुर धामी, जय धामी, हर्क धामीलगायतले छ महिना धौलाढुङगा, चुफी, जलजला र रेलागाडका पाटनमा बिताएको बताए । उनीहरु ८०० भन्दा बढी भेडाबाख्रा लिएर जेठको पहिलो साता भेडा चराउन पाटनतिर गएका थिए  । 

वर्षौदेखि पाटनमा भेडा चराउने गर्दै आएका उनीहरुले यसबर्ष चिसो निक्कै बढेको बताए । चिसो बढेसँगै भेडा मर्नथालेपछि यसपाली छिट्टै भेडालाई बेँशी झारिएको हो । 

कात्तिकदेखि फागुन लाग्दासम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले बेँसीतिर झर्ने गरेको जयको भनाइ थियो । यता छविसपाथीभेरा गाउँपालिकाका शुक्र बोहरा पनि ३०० भेडाको बथानसहित आफ्नै गाउँ बुडखोरी झरेका छन् । चर्को गर्मी र ज्यादै चिसो सहन नसक्ने भेडालाई अहिले जाडोबाट बचाउनकै लागि बेँशी झार्न थालिएको समेत उनले बताए ।   

वर्षभरि लेकबेँसी गरेर भेडापालन व्यवसायमा लागिरहेकालाई हिँउदको समयमा भने सास्ती हुने गरेको छ । चरनका लागि लेकाली क्षेत्र खुला हुने भए पनि बेँशी झर्दा सामुदायिक वन उपभोक्ता समूहले चरन सुविधा उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नुपरेको भेडापालकले गुनासो गरे ।

छविसपाथिभेरा गाउँपालिकाका हर्क धामीले भन्नुभयो, “व्यवसायी सामुदायिक वनको नाममा स्थानीयवासीले अनावश्यक दुःख दिन थालेकाले परम्परादेखि गर्दै आएको व्यवसाय सङ्कटमा पर्न लाग्या छ । पहिलेदेखि भेडा चर्ने, हिँड्ने र बास बस्ने ठाउँमा स्थानीयवासीले वन संरक्षण गर्ने भन्दै चरिचरन गर्न नदिएपछि बेँशी झार्दा भेडा चराउन समस्या हुने हो ।

सामुदायिक वनमा भेडा चराएबापत सामुदायिक वनलाई शुल्क तिर्नुपर्छ । बिरानो ठाउँमा भेडाबाख्रा चराउदा राति बास बसेको ठाउँमा ढुङ्गा हान्ने, मदिरा खाएका समूह आएर दुःख दिने गरेको बताए ।

अहिले यो पेशाप्रतिको आकर्षण क्रमिक रूपमा घट्दै गएको छ । चरन क्षेत्रको अभावले र पछिल्ला पुस्ताका युवाको वैदेशिक रोजगारको मोहका कारण पनि यो पेसा सङ्कटमा परेको उनको भनाइ थियो । सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले भने समुदायले संरक्षण गरेको वनमा हुलका हुल भेडाच्याङ्ग्रा चराउदा विनाश गर्न थालेकाले अधिकांश ठाँउका सामुदायिक वनमा चरिचरनमा रोक लगाउनु परेको जनाए । 

Logo