छाडा पशुबस्तुले बजारक्षेत्र अस्तव्यस्त

छाडा पशुबस्तुले बजारक्षेत्र अस्तव्यस्त

केन्द्रबिन्दु
0
Shares

बजारक्षेत्रका सडक हुन् कि चोक बजार क्षेत्र महोत्तरीमा छाडा पशुबस्तुको जगजगी बढेको छ । घरपालुवा गाई, सुँगुर, बाख्रापाठा र घोडासहितका पशुबस्तु नगर क्षेत्रका चोक, बजार र बस्तीक्षेत्रमा छाडा विचरण गराउने  प्रचलनले ट्राफिक समस्या र फोहरसमेत थपिएको छ ।

साँगुरो सडकमा छाडा गाईको पछि लाग्ने साँढे ढसमस्स बसिदिँदा सामान्य हिँडडुलमै समस्या परेको पैदलयात्री बताउँछन् । प्रत्येक दिनजसो बिहान मिरमिरे उज्यालो हुनासाथै पशुधनीले आफ्ना बस्तु फुकाएर बजार, चोकतिर लघार्ने यहाँ आम चलनजस्तै बनेको छ ।

चोक र बजार परिसरमा खुला विचरण गर्ने पशुबस्तुका कारण पैदल यात्रु सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् । जिल्ला सदरमुकाम जलेश्वरसहित सबैजसो बजार क्षेत्रका मुख्य सडक पेटीमा सडक ढाकेर गाईबस्तु देखिनु यहाँको आम कुराजस्तै बनेको सर्वसाधारणको गुनासो छ । 
 
जलेश्वर, सीतापुर, बर्दिवास, गौशाला, रामगोपालपुर, मटिहानी, मनरा र बलवासहितका नगर बजारक्षेत्रमा छाडा गाई पछ्याउने साँढे दर्जनौँ सङ्ख्यामा विचरण गरिरहेका देखिन्छन् । छाडा पशुले दैनिकरुपमा फोहर बढाएका सर्वसाधारणको गुनासो छ । सबैजसो बजार क्षेत्र र भित्री बस्तीमा पनि फोहरको डुङ्गुरमा सुँगुरले खोस्रेर जताततै दुर्गन्ध बढाएको देखिन्छ ।

गाईबाहेक खुला चरणमा छाडिने सुँगुरका कारण त नगर क्षेत्रका बासिन्दा आजित नै भएका छन् । एकाबिहानै ‘च्वाँच्वाँ’ गर्दै ५०/६० को सङ्ख्यामा आँगनआँगन चाहार्ने सुँगुरको बिष्टा सोहोरेर हैरान भइएको जलेश्वर नगर क्षेत्रका गृहिणीको गुनासो छ । छाडा सुँगुरले त कतिपय दिन घरभित्र पुगेर खानेकुरासमेत  खाने, पोख्ने गरेर हैरान खेलाएको जलेश्वर–१ शङ्करचोक नजिककी बासिन्दा सुलेखा वर्मा बताउछिन् ।

गाईगोरु, बाख्रापाठा आँगनमै आइपुग्दा लाठो देखाएर धपाउन सकिने भएपनि परम्परादेखि सुँगुर छुन परहेज गर्ने केही जाति समुदायको चलन छ । जिल्लाका सबैजसो नगर/गाउँ क्षेत्रमा छाडा पशुबस्तुका कारण सर्वसाधारण आजित भएका छन् । व्यस्त नगरक्षेत्रमा छाडा चौपाया सडक ढाकेर गजधम्म बसी रहँदा स–साना सवारीसाधन चलाउन र पैदलयात्रुलाई हिंड्नसमेत सकस पर्ने गरेको छ ।

जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेशप्रसाद सिंह छाडा चौपाया नियन्त्रणका लागि स्थानीय तहले नै पहलकदमी लिनुपर्ने बताउछन् । छाडा चौपायाले ट्रफिक समस्या बढेसँगै फोहर थुप्रिने र सर्वसाधारणको सुरक्षा चुनौतीसमेत बढेको गुनासो बाक्लिएपछि जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले यसलाई नियन्त्रण गर्न निश्चित कार्य विधि नै बनाइने तयारी गरिएको बताए । 

जिल्ला समन्वय समितिका संयोजक सिंहले छाडा पशु नियन्त्रणबारे जिल्लाभरिमै एकरुपता ल्याउन आवश्यक भएको बताए । “अब जिल्लाका १५ वटै स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच साझा नीति अख्तियार गर्न म पनि पहलकदमी लिनेछु ।” जिल्लाका नगर क्षेत्रका सर्वसाधारणले छाडा पशु नियन्त्रणको उपाय सम्बन्धित निकायले चाँडै अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

Skip This
Skip This
Logo