पनाैतीमा बाह्रवर्षे मकर मेलाकाे तयारी तीव्र, ५० लाख भक्तजन आउने अनुमान

पनाैतीमा बाह्रवर्षे मकर मेलाकाे तयारी तीव्र, ५० लाख भक्तजन आउने अनुमान

केन्द्रबिन्दु
0
Shares

ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न ठीक तीन हप्ता बाँकी छ। आगामी माघ महिनाभर चल्ने मेला सभ्य र भब्य बनाउनका लागि नगरपालिकाले हाल विविध व्यवस्थापनको तयारीलाई तीव्र पारिरहेको छ। मेलाका लागि नगरले गत वर्षदेखि नै बजेट विनियोजन गर्दै तयारी थालेको हो। 

नगरले मेलाका लागि गत वर्ष रु पाँच करोड र यस वर्ष रु तीन करोड बजेट छुट्याएको थियो । उक्त बजेटबाट पनौतीमा भौतिक पूर्वाधारलगायतको व्यवस्थापन तयारी भइरहेको नगरले जनाएको छ। मेलाको तयारी तीव्ररुपमा भइरहेको नगरप्रमुख भीम न्यौपानेले बताए। नगरले गत वर्षदेखि नै मेलाको तयारीस्वरुप पनौतीस्थित सचीतिर्थ–त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको थियो। “विनियोजित बजेटमा अपुग भए नगरबाटै खर्च गर्ने व्यवस्था मिलाइनेछ”, न्यौपानेले भने। उनका अनुसार कोरोना भाइरस् सङ्क्रमणको उच्च जोखिम नभए ५० लाख भक्तजन तथा दर्शनार्थीले पनौतीको मेला अवलोकन गर्ने अनुमान गरिएको छ। 

मकर सङ्क्रान्तीबाट सुरु हुने मेलाका लागि नेपालका मात्र नभई उत्तर भारत प्रयागबाटसमेत तीर्थालु आउने गर्छन् । नगरप्रमुख न्यौपानेका अनुसार हाल ट्राफिक व्यवस्थापन तथा पार्किङ, स्वयंसेवक, प्रदर्शनी, खानेपानी वितरण, स्नान–कुण्ड सरसफाई एवं व्यवस्थापन, मन्दिर तथा मेलास्थलको सरसफाइ, झाँकी प्रदर्शनी, त्रिवेणीघाटलगायत नगर ऐतिहासिक बजार क्षेत्र सजिसजाउ, प्राथमिक उपचार, खोज तथा उद्धार, सूचना केन्द्र सञ्चालनलगायतका व्यवस्थापनको काम भइरहेको छ। हरेक बाह्रवर्षमा महिनाभर लाग्ने ‘मकर मेला’ सभ्य र भव्यरुपमा सञ्चालन गर्ने तयारीस्वरुप धमाधम भौतिक पूर्वाधारका काम भइरहेका छन् भने सँगसँगै प्रवर्द्धनका कार्यक्रमसमेत थालिएको छ। मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो। 

त्रिवेणीघाटमा थप भौतिक संरचनासहित मेला व्यवस्थित बनाउन नगरले थुप्रै योजना सञ्चालन गरिरहेको छ। उक्त स्थानमा नुहाइ त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पूण्य मिल्ने धार्मिक आस्था छ। पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ। उक्त मेलालाई थप व्यवस्थित बनाउन पनौतीसँग जोडिएका सडक पूर्णरुपले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नती भइरहेको छ भने स्तरोन्नती भइरहेको बनेपा–पनौती सडकमा पक्की गर्ने काम करिब अन्तिम चरणका पुगेको छ। मेला अवधिभर ट्राफिक जाम कम गर्न निर्माणाधीन पनौती–बनेपा (पूण्यमाता करिडोर)ले पनि निकै राहत दिलाउने अपेक्षा गरिएको छ। 

मेला सम्पन्न गर्न गठित एक दर्जनभन्दा बढी उपभोक्ता समितिले यो पुसको अन्त्यसम्ममा त्रिवेणीघाट मात्र नभई सिङ्गो पनौतीलाई ‘दुलही’झैँ सिगार्नुपर्ने जिम्मेवारी पनि छ। जसमध्ये पनौतीभित्रका मठ–मन्दिर तथा पाटीमा रङरोगन तथा झल्लर–तोरणले झिलीमिली बनाइनेछ। साथै, पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागतद्वारसमेत निर्माण गर्नु पर्नेछ। मेलालाई व्यवस्थित गर्न हाल श्रद्धालुलाई स्नानको लागि त्रिवेणीघाट वरिपरि बेलीब्रिज र मानेश्वरी बसपार्कदेखि त्रिवेणीघाटसम्म पूण्यमाता खोलाको दायाँबायाँ पैदलमार्ग, विश्रामस्थल लगायतका भौतिक संरचना द्रुत गतीमा अघि बढाइएको छ। 

नगरले ढुङ्गेधारा मर्मत, थप धाराको व्यवस्था, फुटपाट मर्मत, ऐतिहासिक पाटीका जस्तापाता निकालेर झिङ्गटीले छाउने, रथको आवश्यक मर्मत गरी तयारी अवस्थामा राख्ने, सडक बत्तीको पर्याप्त व्यवस्था गर्नेछ। पनौतीबाट चन्ले सबै प्रकारका सवारीसाधनमा ‘भिजिट मकर मेला–२०७८, पनौती’ लेखिएको स्टिकर तथा फ्लेक्स टाँगिनेछ। नगरको योजनाअनुसार त्रिवेणीघाटस्थित क्षेत्रमा रोशी खोलातर्फ सिँढी तथा रोशी खोलामा चार वटा ड्याम तथा सोही क्षेत्रमा शौचालय मर्मत–सुधार, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निमाण तथा आवश्यकीय क्षेत्रमा अस्थायी शौचालय बनाइनेछ। 
राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन्। तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पूण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्तरुपमा बहिरहेको मान्यता रहेको छ। 

भारतको प्रयागमा गङ्गा र यमुना नदीको संगममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पून्यणमाता नदीलाई लिलावती र गुप्तरुपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीपद्यमावती मानिँदै आइएको छ। मेला अवधिभर मल्पी ड्यामबाट नियमितरुपले रोशी खोला तथा मल्पी–लिलावती बाँसडोल खोलामा स्वच्छ पानी बहाइने योजना छ। यसका लागि मकर मेला सुरु हुनु हप्ता पहिले खानी तथा खानीजन्य उत्खनन् तथा पैठारी बन्द गरिनेछ।रासस

Skip This
Skip This
Logo