काठमाडौंको माइतीघर मण्डला, जहाँ राजनीतिक, सामाजिक, सांस्कृतिक विषयमा सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन भेला, सभा, र्याली, प्रदर्शन, अनशन बस्ने जस्ता कार्यक्रम हुने गर्छ । तर, पछिल्लो एक सातादेखि आफूलाई कानुनसम्मत अंश दिलाइदिन माग गर्दै टीकाप्रसाद अधिकारी व्यक्तिगत माग राखेर अनशन बसिरहेका छन् ।
चितवनको भरतपुर महानगरपालिका ११ का अधिकारी आफूलाई भाइअंश दिलाइदिन माग गर्दै माइतीघर मण्डलामा एक सातादेखि अनशन बसेका हुन् । कानुनी लडाइँबाट थाकेपछि आफू अनशन बस्नुपरेको उनी बताउँछन् ।
पाँच दाजुभाइमध्ये दुई जनाले पैतृक सम्पत्ति अंशबण्डा नगरी जालसाजी गरेर लिएपछि उनी कानुनी बाटोमार्फत अंश माग गरेका थिए । अंशका लागि कानुनी लडाइँमा कमाएको पैसा सकिएपछि उनी अनशनमार्फत न्याय खोजेको अधिकारी बताउँछन् ।
‘दाजु दिनेशप्रसाद अधिकारीसहितले अंश नदिएपछि कानुनी संघर्ष गरेँ । तर, अंश पाउन सकिन । न्याय पाउन मुद्दा लड्दालड्दै भएका सम्पत्ति र कमाइ पनि सकियो,’ उनी भन्छन्, ‘यसपछि बाध्य भएर यहाँ (माइतीघर मण्डला)मा आएर अनशन बस्नुपरेको छ ।’
अंश नपाउँदा दुःखी बनेका उनलाई अझ न्यायालयमा तारेखमा धाउँदा धाउँदा नपाएको न्यायले झनै मन पोलेको बताउँछन् । उनले न्याय सम्पादनको शैली परिवर्तन नभए न्याय पाउन गाह्रो रहेको बताए ।
‘कानुनको क्षेत्रमा व्यापक सुधार हुनुपर्ने देखेँ । सधैँ तारिखै तारिख बोकाउने अदालती शैली फेरियोस्,’ उनले भने, नत्र हामी जस्ताले न्याय पाउने आशै नगरे हुन्छ ।’
गरिबका लागि न्याय महँगो र जटिल बनेको उनको अनुभव छ । यसैले अहिले अनशनमार्फत आफ्नो अधिकार खोज्न माइतीघरमा बसेको उनी भन्छन् । आफूले अंश पाउनुपर्ने बताउँदै अधिकारी भन्छन्, ‘सत्य नडगोस्, असत्य नटिकोस् ।’
आफूले कानुनसम्मत पाउनुपर्ने अंश नपाएसम्म अब अनशन बसिरहने बताएका टीकाप्रसाद अधिकारीले आफ्नो न्यायको लडाइँमा सहयोग गर्न सबैमा आग्रह पनि गरे ।































प्रतिक्रिया