ट्राफिक प्रहरीद्वारा नागरिक सचेतना अभियान शुरु

ट्राफिक प्रहरीद्वारा नागरिक सचेतना अभियान शुरु

केन्द्रबिन्दु
0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना महामारीलाई मध्यनजर गर्दै नागरिक सचेतना अभियान शुरु गरेको छ । बिहीवार कोरोनाको जटिलतालाई मध्यनजर गर्दै महाशाखाले काठमाडौंको आरएनएसीबाट कोरोनाबाट बच्नका लागि आम नागरिकहरुलाई मास्क लगाउन अनुरोध गर्दै नागरिक सचेतना अभियान शुरु गरेको हो । 

महाशाखाले सवारीसाधनमा मास्क अनिवार्य लगाउन आग्रह गरिएको पर्चा तथा पम्प्लेटहरुसमेत टाँसेको छ भने सवारीसाधन चालक र सहचालक तथा यात्रुहरुलाई सवारीसाधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक उमेशराज जोशीले कोरोना महामारी बढीरहेकाले आम नागरिकहरुलाई सचेत गराउनका लागि यो अभियान शुरु गरिएको बताए। उनले सवारीसाधनमा टाँसेको पर्चा र पम्प्लेटले पनि नागरिकहरुलाई मास्क लगाउनु पर्छ भन्ने ज्ञान हुने बताए।

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले मास्क नलगाइ हिँड्ने मानिसहरुलाई मास्क लगाएर हिँड्नका लागि सचेतना अभियान शुरु गरिएको बताए। उनले ट्राफिक प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, कर्मचारी, मजदुर संघहरुले कोरोनाबाट बच्नका लागि मास्क अनिवार्य लगाउनका लागि सचेत गराइएको बताए। उनले यो अभियान देशभर नै सञ्चालन हुने पनि जानकारी दिए।

महासचिव सिटौलाले सवारीसाधन चढ्ने यात्रु, सवारी चालक र सहचालकहरुले मास्क नलगाएको पाइएमा कानूनअनुसार कारबाही हुने पनि बताए।

Logo