खोटाङमा थपिए ३५ संक्रमित, तीन जना संक्रमणमुक्त

खोटाङमा थपिए ३५ संक्रमित, तीन जना संक्रमणमुक्त


खोटाङमा एकैदिन ३५ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। आइतबार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, तीन संक्रमित कोरोना संक्रमणमुक्त पनि भएका छन्। कोभिड–१९ को तेश्रो लहरपछि कोरोना संक्रमण भएर निको हुनेको संख्या चार पुगेको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकलपर्सन भिष्म पाण्डेले बताए।

चार जना संक्रमणमुक्त हुँदा जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ९४ पुगेको छ। सक्रिय संक्रमित होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका एक लाख १२ हजार आठ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। त्यसमध्ये ६६ हजार ६ सय १२ जनाले दोश्रो मात्रा खोप लगाइसकेका छन्। जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पतालसहित सात अस्पतालमा दुई सय ३४ बेड उपलव्ध छ। 

यस्तै, एक थान भेण्टिलेटर, सात वटा एम्बुलेन्स, दुई सय थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। कोभिड–१९ को प्रथम र दोश्रो लहरमा जिल्लाका तीन हजार ४१ संक्रमितले कोरोना जितेका थिए। यस अवधिमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए। 

जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गए पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भने बेवास्ता भइरहेको छ। जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेको छैन। संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ। 

Logo