कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका स्वास्थ्यकर्मीहरूका अनुसार कोरोना महामारीकाे तेस्राे भेरियन्ट ओमिक्राेन संक्रमणकै कारण गम्भीर बनेर अस्पतालमा काेही पनि आएका छैनन्। महामारीकाे पहिलाे र दोस्रो लहरमा जस्ताे तेस्राे लहरकाे संक्रमणमा कसैले पनि ज्यान गुमाउनु परेकाे छैन।
प्रतिष्ठानका अनुसार यसपटक धेरै बिरामी होम आइसाेलेशनमै बसेका र थाेरै मात्रामा अस्पतालमा भर्ना भएका छन्। प्रतिष्ठानका आइसाेलेशन विभाग प्रमुख सृजना महतले यसपटक अस्पतालमा भर्ना भएका बिरामीमा पनि गम्भीर समस्या नभएकाे बताइन् । गम्भीर बिरामी नभए पनि समुदायमा व्यापकरुपमा फैलिएको हुनसक्ने उनकाे अनुमान छ।
यसपटक परीक्षण पनि कम भएको देखिन्छ। जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार तेस्राे लहरमा मंगलबारसम्म जुम्लामा एक सय ३१ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ। जसमध्ये तीन जना अस्पताल भर्ना भएर उपचार गरिरहेका छन्। मंगलबारसम्म गरिएको परीक्षणमा एन्टिजन परीक्षण गर्दा थप पाँच जनामा कोरोना संक्रमण देखिएकाे थियाे। यसमध्ये ३८ जना निकाे भएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ।
प्रभावकारी सूचना प्रणाली
स्थानीय प्रशासनले पछिल्लो पटक सूचना प्रणालीलाई प्रभावकारी बनाएको छ। प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत दैनिक कारोनाको अवस्था दैनिक अपडेट गरिरहेको अवस्था छ। यो पटकको भेरियन्टमा समुदायमा कोरोना भए पनि खासै कठिन अवस्थाका बिरामी आएका छैनन्।
ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई भने अलि बढी असर गरेकाले उनीहरू भने अस्पतालमै उपचार गर्न आउने गरेका प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ। स्थानीय प्रशासन र स्वास्थ्य संस्थाहरूले पछिल्लो समय खोप अभियानलाई तीव्र पार्नुका साथै कोरोना परीक्षण गर्ने शंकास्मत व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय अगाडि हेल्पडेक्स स्थापना गरेर खोप, एन्टिजन परीक्षण तथा मास्क वितरण समेत भइरहेको छ। पछिल्लो समय १२ देखि १७ बर्षका बालबालिकालाई पनि खोप लगाउने अभियान जारी रहेको छ।
तेस्रो भेरियन्टको कोरोनामा भने निकै कठिन विरामी आउने र धैरैले ज्यान गुमाएपछि कर्णाली प्रतिष्ठानलाई उपचारमा हम्मे हम्मे भएको थियो। प्रतिष्ठानका अनुसार कोरोनाको दोस्रो भेरियन्टमा २७ जनाको निधन भएको थियो। तर, प्रतिष्ठानले सहजकता भने अपनाएको बताएको छ। आइसाेलेशन वार्डलाई फेरि सुचारू गरेको छ। यस्तै कोरोना न्यूनिकरण गर्न प्रतिष्ठानमा सोही अनुसारको जनशक्ति खटाएको जनाएको छ।





























प्रतिक्रिया