छारेरोगका बिरामी बढ्दै : के हो छारेरोग, कसरी लाग्छ ?

छारेरोगका बिरामी बढ्दै : के हो छारेरोग, कसरी लाग्छ ?

केन्द्रबिन्दु
0
Shares

कपनकी १८ वर्षीया इभाङ्का रानालाई विगत छ वर्षदेखि छारेरोग देखिएको छ । उनलाई १२ वर्षको उमेरदेखि नै छारेरोग देखिएको हो। 

उनलाई पूरै जिउ काम्ने र बेहोस हुने लक्षण रहेको छ। ‘छारेरोग देखिनै बित्तिकै चिकित्सकको सल्लाहमा औषधि सेवन गरेको हुँ’, उनी भन्छन्  ‘नियमित औषधि सेवनले छारेरोग नियन्त्रणमा आएको छ।’ औषधि सेवनले रोग कम हुने उनको अनुभव छ । 

सुरुसुरुमा उनका छारेरोगको लक्षण दिनहुँ हुने गर्दथ्यो । पछि औषधि सेवनले महिनामा सातदेखि आठ पटकसम्म शरीर काम्ने र ढल्ने लक्षण देखिएकामा अहिले भने नियमित औषधि सेवनले लक्षण घटेर चारदेखि पाँच पटक मात्र हुने गरेको छ । उनी ढल्नुअघि कमजोर महसुस हुने, मांसपेसीले काम नगरेको हुने र काम्नेसँगै तथा त्यसको पाँचदेखि छ मिनेटभित्रमा ढल्ने र बेहोस् हुने गर्छन् । 

‘ढल्नेबेलामा टाउको दुख्ने र थाहा नहुने जस्ता समस्या हुन्छ’, उनी भन्छन्, ‘त्यसपछि म बेहोस हुन्छु र ढल्ने गर्दछु ।’ उनलाई प्रायः बिहान उठ्ने बेला र साँझ सुत्ने बेला शरीर काम्ने गर्दछ । दिउँसो भने कहिलेकाहीँ मात्र शरीर काम्ने गरेको उनी बताउँछन् । कपनकी राना एउटा उदाहरण मात्र हो । उनीजस्ता स्ता हजारौं छारेरोगी नेपालमा छन् । 

के हो छारेरोग, कसरी लाग्छ ?

महाराजगञ्जस्थित नेशनल न्यूरो सेन्टरका उपनिर्देशक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा सुमन भट्टराईले नेपालमा प्रति एक हजारमा ७.३ जनामा छारेरोगको समस्या देखिने गरेको बताए । उनका अनुसार छारेरोग बालबालिकादेखि वृद्धवृद्धासम्म लाग्ने गरेको छ । कसैलाई जन्मिदा नै मानिसको मस्तिष्कमा अक्सिजन नपुगेर छारेरोग लाग्न सक्ने डा भट्टराई बताउँछन् ।  मानिसको उमेर बढ्दै गएपछि प्यारालाइसिस, इन्सेफ्लाइटिस, मेनेन्जाइटिस जस्ता समस्याले गर्दा पनि छारेरोग देखिने गरेको उनले प्रष्ट पारे । 

‘छारेरोग ५० प्रतिशतमा कारण खुल्ने हुन्छन्, तर ५० प्रतिशत भने कारण नदेखिने खालको हुन्छ’, उन ‘नून, क्याल्ससियम र सुगरको मात्रा कम भए पनि पनि छारेरोग देखिने गर्दछ ।’ छारेरोग मानिसको मस्तिष्कमा आउने कुनै पनि अस्वाविक विद्युतीय तरङग हो । त्यसले मस्तिष्कको भागलाई अनियन्त्रित गर्दछ । त्यस्तो बेला मानिसको सचेतना र अरु गतिविधि अस्वभाविक देखिने उनी बताउछन् ।  

छारे रोगका लक्षण

चिकित्सकका अनुसार नेपालमा देखिने जनरललाज्ड टोनिकक्रोनिक छारेरोग हो । यस्तो प्रकारको रोगमा मानिसको सबै भाग काप्ने गर्दछ । यो छारेका सुरुमा मानिस एक्कासि बेहोस हुने, हात खट्टा काम्ने, कहिले खुम्चने र कहिले खुल्ने, हातखुट्टाको झट्का दिने र शरीर कम्पन्न हुने गर्दछ । साथै शरीरको एकै भागमा मात्र पनि छारे देखिन सक्छ जसलाई फोकल इपिलेप्सी भनिन्छ । यस्तै मानिसमा जिब्रो टोक्ने, मुखमा फिँज आउने, आँखा सेतो भाग पल्टिएको, दिसापिसाब आएको लक्षण पनि हुने गर्दछ । 

छारेरोग भएका मानिसमा जटिलता केही नभएमा एकदेखि पाँच मिनेटभित्रमा होस आउन सक्दछ । बिरामी होसमा आए पनि टाउको दुख्ने, वाकवाकी लाग्ने, केही बिर्सिए जस्तो हुने के हो के हो, निद्रा लागेको जस्तो हुने र केही समय १० देखि १५ मिनेटभित्रमा सामान्य अवस्थामा आउने गर्दछ ।  

छारेरोगका बिरामी बेहोस भएर लड्नुभन्दा अगाडि छोटो समयका लागि इन्द्रेणी देखिएको, शरीरमा विद्युतीय तरङग आएको महसुस गर्ने र पेटमा केही असहज महसुस हुने जस्तो पनि समस्या आउने पाटनस्थित मानसिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा वासुदेव कार्की बताउछन् । छारेरोग जुनसुकै ठाउँमा हुनसक्ने भएकाले दुर्घटनासमेत निम्तिन सक्ने उनले प्रष्ट पारे ।  

‘लामो समयमम्म उपचार नगरेर छारेरोगले दुर्घटना निम्त्यााउन सक्छ’, डा कार्कीले भने, ‘यसले मानिसमा मनोसामाजिक, वौद्धिक र व्यक्तित्वमा पनि समस्या ल्याउँछ, छारेरोग दीर्घ प्रकृतिको स्यानुसँग सम्बन्धित स्वास्थ्य समस्या भएको र उपचार नगर्दा यसले अरु जटिलता ल्याउनसक्ने भएकाले समयमा नै उपचार गर्नुपर्दछ ।’

मधुमेहको जटिलता, मिर्गौलाका बिरामी, कलेजोका बिरामी, टाउकोमा चोटपटक लागेका, ट्युमर मासु पलाएको, दिमागमा सङ्क्रमण जस्ता बिरामीलाई छारेरोग देखिने सम्भावना बढी हुने डा कार्कीको भनाइ छ । छारेरोगको उपचार यस्ता रोगलाई छुट्टयाएर गर्नुपर्दछ । 

नियमित औषधि सेवनबाट नियन्त्रणमा हुन्छ

छारेरोग नियमित औषधिको सेवनबाट निको पार्न सकिन्छ । डा कार्कीका अनुसार छारेरोगको लक्षण देखिनासाथ औषधि खाएपछि यो रोग निको हुन्छ । उनले लक्षण नदेखिएको तीनदेखि पाँच वर्षसम्म औषधि नियमित खाँदा निको हुने बताउनुभयो । गर्भावस्था, सुत्केरी र स्तनपान गराइरहेका महिलाले चिकित्सकको सल्लाहमा नियमित स्वास्थ्य जाँच गरेर मात्र औषधि सेवन गर्नुपर्दछ । नवजात शिशुमा हुने जन्मजात ओठतालु फाट्ने जस्तो समस्या आउने गर्दछ । छारेरोग मानिसमा हुने तनाव, रक्सी सेवन, अनावश्यक औषधिको परिवर्तन, धूमपान, हार्मोन परिवर्तनले गर्दा बढ्दो रुपमा रहेको छ । 

यद्यपि सबै काम्ने बिरामी छारेरोगका बिरामी नहुने न्युरोलोजिष्ट डा भट्टराईले प्रष्ट पारे । ‘निद्रामा हातखुट्ट झस्किने, सुतेको बेला तर्सने, कसैको मुख चलाइरहने बानी जस्ता समस्या छारे नहुन पनि सक्छ’, डा भट्टराईले भने ‘मनको तनावले पनि छारेरोग जस्तै लक्षण देखिन सक्छ ।’

वर्सेनि बढ्दै छारेरोग

हरेक वर्ष नेपालमा छारेरोगको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । विगत पाँच वर्षको तथ्याङ्कले छारेरोग का बिरामीको सङख्यामा वृद्धि हुँदै गएको देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कअनुसार नेपालमा छारेरोगको सङ्ख्या पनि बढिरहेको हो । 

प्रणालीका तथ्याङ्क अधिकृत पुष्प श्रेष्ठले आर्थिक वर्ष २०७७/७८ मा २४ हजार ५३२ जनामा छारेरोग लागेको पुष्टि गर्नुभयो । यसअघि आव २०७३/७४ मा १५ हजार ६४७ जनामा मात्र छारेरोग पुष्टि भएको थियो । श्रेष्ठका अनुसार आव २०७४/७५ मा १८ हजार ३८८, आव २०७५/७६ मा १९ हजार ६४४ र आव २०७६/७७ मा २१ हजार १६४ जनामा छारेरोग देखिएको छ । 

सबैभन्दा बढी वाग्मती प्रदेशमा

स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कअनुसार आव २०७७/७८ मा वाग्मती प्रदेशमा सबैभन्दा बढी छारेरोगका बिरामी पाइएका छन् । तथ्याङकअनुसार वाग्मती प्रदेशमा १० हजार ८३४ छारेरोगका बिरामी रहेको पाइएको थियो ।  वाग्मतीपछि लुम्बिनीमा तीन हजार ७४७, प्रदेश नंं १ मा तीन हजार ५८५, गण्डकी प्रदेशमा दुई हजार ५५०, मधेश प्रदेशबाट दुई हजार १७, सुदूरपश्चिम प्रदेशमा एक हजार १४९ र कर्णाली प्रदेशमा ६५० जना रहेका छन् । 

यस्तै पाँच वर्ष अगाडि २०७३/७४ प्रदेश नंं १ मा एक हजार ६३२, मधेश प्रदेशमा ३१० जना, वाग्मती प्रदेशमा सात हजार ३०१ जना, गण्डकी प्रदेशमा दुुई हजार ४२४, लुम्बिनी प्रदेशमा दुई हजार ८५९, कर्णाली प्रदेशमा ३६६ र सुदूरपश्चिम प्रदेशमा ७५५ जना छारेरोगका विरामी रहेका थिए । जिल्लाअनुसार सबैभन्दा बढी सहरी क्षेत्रका जिल्लामा छारेरोग देखिएको छ ।
 
तथ्याङ्कअनुसार मोरङमा दुई हजार ८९६ छारेरोगी देखिएका थिए । यस्तै मधेश प्रदेशको पर्सामा एक हजार ९२२, वाग्मतीको काठमाडौँमा छ हजार ९९७, गण्डकीको कास्कीमा एक हजार ३९०, लुम्बिनी प्रदेशको रुपन्देहीमा दुई हजार ५४, कर्णाली प्रदेशको सुर्खेतमा २२७ र सूदूरपश्चिम प्रदेशको कैलालीमा ४९१ जनामा छारेरोग देखिएको छ । 

पाँच वर्ष अगाडि आव २०७३/७४ को तथ्याङ्क हेर्दा प्रदेश नंं १ को सबैभन्दा बढी मोरङमा एक हजार २३०, मधेश प्रदेशको पर्सामा २१५, वाग्मती प्रदेशको काठमाडौंमा तीन हजार ८९१, गण्डकी प्रदेशको कास्कीमा एक हजार ४५०, लुम्बिनी प्रदेशको पाल्पमा एक हजार २८५, कर्णाली प्रदेशको पश्चिम रुकुममा १४८ र सूदूरपश्चिम प्रदेशको अछाममा २८५ छारेरोगका बिरामी रहेको उल्लेख छ । 

निःशुल्क औषधि

छारेरोगका बिरामीलाई सरकारले २०७४ सालदेखि नियमित रुपमा औषधि निःशुल्क प्रदान गर्ने गरेको छ । सबै स्थानीय तहबाट नै सरकारले नियमित निःशुल्क औषधि दिँदै आएको छ । छारेरोगका बारेमा अझै पनि समाजमा अन्धविश्वास कायम रहेको मनोचिकित्सक डा कार्की बताए ।  

उनले समाजमा रहेको भ्रम, अन्धविश्वास र गलत धारणालाई चिर्न आवश्यक रहेको छ । अझ पनि छारेरोग लागेपछि धामी, झाँक्रीकामा देखाउने जस्ता अन्धविश्वास रहेको पाइन्छ । पाटनमा दैनिक पाँचदेखि १० जना बिरामी आउने गर्दछन् । बच्चामा जन्मजात, अलि ठूला भए सङ्क्रमण र ज्येष्ठ नागरिकलाई क्यान्सर, मधुमेह जस्ता कारणले छारेरोग लाग्ने गर्दछन । 

७० प्रतिशत नियन्त्रण 

छारेरोग ७० प्रतिशत बिरामीलाई समयमा नै उपचार गरेर नियन्त्रण हुने गर्दछ । छारेरोग नियमित सेवन अथवा कुनैको शल्यक्रिया गरेर पनि नियन्त्रण गर्न सकिने नेशनल न्यूरोसेन्टरका निर्देशक तथा वरिष्ठ न्युरोलोजिष्ट डा लेखजङग थापाले बताए । उनले केही बालबालिकामा देखिने छारेरोग भने पाँचदेखि १५ वर्ष उमेर समूहमा आफैं हराउने पनि बताए ।  

बच्चामा छारेरोग निको हुने सम्भावना बढी हुने उहाँको भनाइ छ। उनले छारेरोग धेरै पटक दोहरिएर ३० देखि ४० प्रतिशत मानिसमा ज्यान जाने खतरा रहेको उनको भनाइ छ। ‘छारेरोगले सिधै मुटुलाई असर गर्दछ’, उनले भने, ‘मुखमा फिँज आउने गर्नाले श्वास नली रोकिन्छ, त्यसैले मानिसको ज्यान जाने सम्भावना पनि हुन्छ ।’ 

त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख डा सरोज ओझाले छारेरोग नेपालमा मात्र नभएर संसारमा नै स्वास्थ्य समस्याका रुपमा आएको बताए। ‘यो वंशाणुगत कारण र दिमागमा चोट लागेपछि देखिन्छ’, उनले भने, ‘दिमागमा जुकाको अण्डा पुग्यो भने पनि यो रोग लाग्ने गर्दछ ।’ उनले  छारेरोग नसर्ने रोग भएकाले नियमित तीनदेखि पाँच वर्षसम्म औषधि खायो भने निको हुने उनले बताउछन् । 

छारेप्रतिको धारणा परिवर्तन गर्न आवश्यक 

छारेरोग प्रतिको धारणा समाजमा परिवर्तन गर्न आवश्यक रहेको डा थापा  बताए । ‘छारेरोगका कारणले ढल्यो भने मानिसले धुप बाल्ने, मोजा तथा जुत्ता सुगाउने जस्ता गर्दछन्’, उनले भने, ‘तर त्यसो गर्नु गलत हो, मानिस ढलेको बेला उसलाई सहयोग गर्नुपर्दछ।’ अझै नेपाली समाजमा छारेरोग लागेका मानिसले अब जीवनमा केही पनि गर्न सक्दैनन् भन्ने मानसिकता छ । यद्यपि छारे नियन्त्रण भएका मानिसले अरु जस्तै सामान्य जीवन बिताउनसक्ने डा थापा बताउछन् ।रासस 

Skip This
Skip This
Logo