मधेश प्रदेशमा सन् २०२१ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीको ७ हजारभन्दा बढी घटना भएको सार्वजनिक गरिएको छ।
मानव अधिकारको क्षेत्रमा काम गर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक)ले शनिबार जनकपुरमा एक कार्यक्रमबीच सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२२ मा सन् २०२१ मा मधेश प्रदेशमा ७ हजार ५८ वटा घटना मानवअधिकार उल्लंघनसँग जोडिएको उल्लेख छ। उक्त पुस्तकमा अपहरणका २४, पक्राउका ३, महिला अघिकार उल्लंघनमा २२८, बालअधिकार उल्लंघनमा २२३ घटना भएको उल्लेख छ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को सार्वजनिकीकरण उच्च अदालत जनकपुरधामका न्यायाधीश हरिप्रसाद बंगालेले गरेका हुन्। कार्यक्रममा मधेश प्रदेशसभाका सांसद मञ्जु यादवले न्यायालय स्वतन्त्र हुन नसकेको बताइन्। मधेश प्रदेशमा जातिय छुवाछुत, बोक्सी आरोप, कुटपिटलगायतका घटनामा वृद्धि हुँदै गरेकाले यसतर्फ राज्यका निकायहरु गम्भिर हुन जरुरी रहेको सांसद यादवको भनाइ थियो। राजनीतिक नियुक्तिका कारणले गर्दा न्यायालय स्वतन्त्र नभएको उनको भनाइ थियो।
ईन्सेकका मधेश प्रदेश प्रमुख राजु पासमानले मानव अधिकारको क्षेत्रमा मधेश प्रदेशमा ७५८ वटा घटना भएको बताए। सार्वजनिकीकरण कार्यक्रममा २०२१ मा मानव अधिकार अभिलेख र पैरवीमा प्रदेशमा उत्कृष्ट कार्य गर्ने रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनालाई ७ हजार नगदसहित पुरस्कृत गरिएको छ।





























प्रतिक्रिया