पछिल्लो चौबिस घण्टामा सवारी दुर्घटनामा १० जनाको मृत्यु

पछिल्लो चौबिस घण्टामा सवारी दुर्घटनामा १० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। बैतडी, धनुषा, मकवानपुर, इलाम, ललितपुर र लुमजुङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरुले ज्यान गुमाएको प्रहरीले जनाएको छ। 

बैतडीको पाटन नगरपालिका–३ झालीमालीमा बा.३ ख ४८७९ नम्बरको टिपर सोमबार अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। टिपरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय जनकराज पन्त लगायत ३ जनाको घटनास्थलमै र १२ वर्षीय राजेन्द्रप्रसाद पन्तको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका एक जनालाई थप उपचारको लागि नोभा अस्पताल धनगढी पठाइएको छ। दुर्घटनामा घाइते भएका ६ जना उपचार पश्चात डिस्चार्ज भएका छन्। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीस्थित सडकमा मे.१ ज ३०१८ नम्बरको टाटा सुमो र प्रदेश २–०२–००१ प ८३४६ नम्बरको मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ। सोमबार भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही नगरपालिका–८ बस्ने २४ वर्षीय मनिष विक र शहिदनगर नगरपालिका–१ बस्ने १९ वर्षीय महेश कुमार सहनी रहेका छन्। 

ईलाका प्रहरी कार्यालय यज्ञभूमिबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएकोमा मनिषको बाटोमै र महेश कुमारको उपचारको क्रममा मृत्यु भएको हो। दुबै सवारी साधन र सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरास्थित सडकमा बा.५७ प ८५७० नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक ३३ वर्षीय दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको छ। 

इलामको इलाम नगरपालिका–१० घट्टास्थित सडकमा ना.४ ख ६२४८ नम्बरको बस सोमबार बेलुकी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गाडीमा सवार बारा सिम्राहागण नगरपालिका–७ बस्ने ३५ वर्षीय प्रदीप कुसुवाह रहेका छन्। गाडीले च्याप्पिएर घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

ललितपुरको ललितपुर महानगरपालिका–१५ एन्फा नजिक सडकमा प्रदेश ३–०१–०२४ च ४१४७ नम्बरको गाडी मंगलबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गाडीमा सवार माहांकाल गाउँपालिका–३ गोटिखेल घर भएका ६६ वर्षीय सन्तप्रसाद तिमल्सिना रहेका छन्। 

दुर्घटनामा घाइते भएका उनको उपचारको लागि बिएण्डबि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लमजुङको दोर्दी गाउँपालिका–६ ताजेस्थित निर्माणाधिन सुपरदोर्दी हाईड्रोपावर सुरुङभित्र जाँदै गरेको मसला बोक्ने गाडीमा फलामको रड अचानक खसेर लाग्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक चितवन मेघौली बस्ने ३६ वर्षीय ईश्वर पुलामी मगर रहेका छन्। 

Skip This
Skip This
Logo