लमजुङको घले गाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिने

लमजुङको घले गाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिने

केन्द्रबिन्दु
0
Shares

पर्यटकीय गाउँबाट सुरु भएको घले गाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । अब स्मार्ट भिलेज घले गाउँलाई ०७९ वैशाख २ गते सुखी गाउँको रूपमा घोषणा गरिने घले गाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले बताए । पुर्वप्रधानमन्त्री एवम् एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले वैशाख २ गते घले गाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

दुई दशकको आन्तरिक पर्यटन विकासले घले गाउँलाई दक्षिण एसियामै नमुना ग्रामीण पर्यटकीय गाउँका रूपमा प्रख्यात बनायो । स्मार्ट भिलेज घले गाउँका घर एकैनासले रातो रंगको जस्ता राखिएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घले गाउँका अध्यक्ष घलेले बताए । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ), गण्डकी प्रदेशलगायत निकायले उत्कृष्ट होमस्टेको श्रेणीमा राखेको घले गाउँ दुईपल्ट दक्षिण एसियाकै नमुना गाउँ घोषित हुन सफल भइसकेको छ ।

०५६ देखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थिए । ०५७ देखि १२ घरबाट घले गाउँमा होमस्टे सञ्चालन गरिएको थियो । घले गाउँका १ सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ । न्यानो आतिथ्यताका माध्यमबाट घले गाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ । गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सिधै होमस्टेका लागि पुग्ने गरेका छन् । ०५७ सालबाट होमस्टे सञ्चालनमा आएको घले गाउँमा ४२ घरले नियमित सेवा दिइरहेका छन् । घले गाउँमा दैनिक ३ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको घले गाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । 

घले गाउँमा पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाको आर्थिक स्तर पनि उकासिएको छ । निकै उचाइमा हिमशृङ्खलाको काखमा अवस्थित घले गाउँको झ्यालबाटै मनोरम सेताम्य हिमालको टाकुरा देखिन्छ । गाउँको वरिपरि मनमोहक दृश्यावलोकनका प्राकृतिक हरियाली पहाड, फाँट र गहिरा खोल्साखोल्सीहरू । हरिया चिया बगान, भ्यूटावर, भेडी गोठ, उत्तरकन्या मन्दिर, पोखरी र अन्य सुन्दर प्राकृतिक छटाले मन आनन्दित हुन्छ ।

माछापुच्छ्रे अन्नपूर्ण, हिमालचुली, मनासलु, लमजुङ, बौद्ध लगायतका हिमश्रङ्खलाको मनोरम दृश्यले मोहित त्यहाँ आगन्तुक पाहुनाहरू बिहानभरि क्यामेरा, मोबाइल, आइफोनमा आफ्ना तस्बिर कैद गरेरै बिताउँछन् । गाउँ नजिकै डाँडामा भ्यूटावर निर्माण गरिएको छ । त्यहाँबाट सूर्योदय र सूर्यास्तको राम्रो अवलोकन गर्न सकिन्छ । लमजुङको सदरमुकाम बेँशीशहरबाट मोटरमा २ घण्टामा घले गाउँ पुग्न सकिन्छ । लमजुङको क्व्होलासोँथर गाउँपालिका ३ मा पर्ने घले गाउँ समुद्र सतहबाट दुई हजार १ सय मिटर उचाइमा छ ।

Logo