संकटमा आरन पेसाः व्यवसायी भन्छन्, ‘विकल्प नहुँदा समस्या भयाे’

संकटमा आरन पेसाः व्यवसायी भन्छन्, ‘विकल्प नहुँदा समस्या भयाे’


पुस्तौँ पुस्तादेखि चल्दै आएको सिप र प्रविधिको प्रयोगमा आधारित रहेर सञ्चालन हुँदै आएको बालीघरे प्रथा ‘आरन पेसा’ पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ।

पुरानैशैली र औजार बनाउन प्रयोग हुने गोल र उचित पारिश्रमिक पर्याप्त मात्रामा नहुँदा आरन पेसा लोप हुने अवस्थामा पुगेको हो। प्रविधिको विकाससँगसँगै बढ्दो आधुनिकताको प्रभावले च्याप्दै जान थालेपछि समाजमा बालीघरे प्रथाका रुपमा रहेको आरन पेसा संकटमा परेकाे दैलेख ठाटीकाँधका स्थानीय बताउँछन्। 

विगतमा दैलेखका विभिन्न ठाउँहरूमा भेटिने आरन हिजोआज भने लोप हुने अवस्थामा पुगेका छन्। जिल्लाका कतिपय गाउँहरु आरन टोलका नामले समेत चिनिन्छन्। दैलेखको ठाटीकाँध गाउँपालिका लगायत केही स्थानमा मात्र सीमित मात्रामा आरन व्यवसाय चल्दै आएको छ। परम्परागत पेसाको रुपमा रहेको आरनको महत्व नबुझ्नु, नयाँ पुस्तामा सिप हस्तान्तरण हुन नसक्नु र वैदेशिक रोजगारीप्रतिको आकर्षणले आरन पेसा संकटमा परेकाे स्थानीय बताउँँछन्। 

खासगरि समाजमा बसोबास गर्दै आएका विश्वकर्मा समुदायको मुख्य पेसाको रूपमा चिनिएको आरन पेसा अहिले हराउँदै जान थालेको ठाटीकाँध- २ का पहराम कामी बताउँछन्। ‘नौमती पञ्चेबाजासहित मठमन्दिरमा आवश्यक पर्ने सामाग्रीहरु पनि आरनमा बनाउने गरिन्छ’ उनले भने। 

आरन पेसा सञ्चालनका लागि मुख्य रुपमा गोलको आवश्यकता पर्ने गर्दछ। "व्यवसायिकरुपमा आरन पेसा सञ्चालन गर्नेहरूले पहिले सामुदायिक वनजङ्गलमा रुख ढालेर गोल ल्याइन्थ्यो। तर, अहिले रुख काट्न नदिएपछि गोलको लागि निकै समस्या छ। गोलको साटो पथ्थर कोइला आएको भए सहज हुन्थ्याे,' ठाटीकाँध-२ का रघे लाेहार भन्छन्। 

पछिल्लो समय विद्युतको सहायताबाट फलामको सामानमा वल्डिङ गर्ने, प्वाल पार्ने, पुराना सामानलाई नयाँ बनाउने र मर्मत गर्ने प्रविधिको समेत विकास भएकाले आरन पेसा संकटमा परेकाे उनी बताउँछन्।

Logo