२०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको बसन्तपुरस्थित गद्दी बैठक आजबाट सर्वसाधारणका लागि खुला गरिने भएको छ । अमेरिकन सहयोगमा पुर्निर्माण गरिएको गद्दी बैठक सर्वसाधारणका लागि अवलोकन प्रयोजनार्थ खुला गर्न लागिएको हो । आज अपरान्ह ४ बजे गद्दी बैठक उद्घाटन कार्यक्रम राखिएको छ ।
हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्घाटन गरेपछि गद्दी बैठक औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिनेछ । बसन्तपुर तथा हनुमानढोका क्षेत्रमा पुर्निर्माणको कार्य जारी छ । योसँगै गद्दी बैठकको तल्लो तलामा रहेका तीनवटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र हेर्न सकिने छ ।
गद्दी बैठक अवलोकनको लागि सर्वसाधारणले अतिरिक्त शुल्क तिर्नु नपर्ने दरबार हेरचाह अड्डाले जनाएको छ । गद्दी बैठकको निर्माण सम्पन्न गरेर २०७५ असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको भएपनि भित्रको व्यवस्थापन मिलाउन बाँकी रहेकाले सर्वसाधारणलाई प्रवेश खुला गर्न केही ढिलाइ भएको खनालले जानकारी दिए ।
गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको पालामा नवशास्त्रीय (नियोक्लासिकल) शैलीमा बनेको हो, जुन विदेशी पाहुनालाई ओहोदाको प्रमाणपत्र दिनका लागि प्रयोग गर्ने गरिन्थ्यो । यसबाहेक राज्यको महत्वपूणर् बैठकका लागि गद्दी बैठकको प्रयोग गरिन्थ्यो । अन्तिम पटक राजा महेन्द्रको पालामा ओहोदाको प्रमाणपत्र गद्दी बैठकबाटै दिएको प्रमाण पाइएको खनाल बताउँछन् ।
गद्दी बैठकमै राजाको गद्दी आरोहणको समारोह पनि गरिन्थ्यो । विदेशी पाहुनालाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठक कक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले वि. सं. १९६५ मा युरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरेका हुन् ।































प्रतिक्रिया