काठमाडौं उपत्यका घरघरमा आजदेखि मेलम्चीको पानी वितरण सुरु हुँदै छ।
गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । गत वर्ष आयोजना सञ्चालन भएको केही समयमै बाढीले क्षति पुर्याएको थियो ।
क्षति भएको १० महिनापछि आजदेखि पुनः पानी काठमाडौंका घरघरमा वितरण गर्न लागिएको हो । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि घर–घरमा पानी वितरण हुनेछ।
खानेपानी मन्त्रालयले आयोजनाको सफाइ र मर्मतको काम सम्पन्न गरी गत २०७८ चैत २९ गते काठमाडौँतर्फ पानी पुनः पथान्तरण गरेको थियो । त्यसको एक सातापछि पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको थियो । प्रशोधन केन्द्रमा भण्डारण गरी वितरण केन्द्रमार्फत उपत्यकाका घर–घरमा पानी वितरण गर्न लागिएको हो।
नेपाल सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना गत चैत मसान्तभित्र सञ्चालन गर्ने घोषणा गरेको थियो। झन्डै तीन दशकअघि पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले उपत्यकावासीलाई मेलम्चीको पानी उपलब्ध गराउने भनेर देखेको सपना अब पूरा हुनेछ।
खानेपानी मन्त्रालय र चिनियाँ कम्पनी सिनो हाइड्रोबीच गत माघ ७ गते सम्झौता भई त्यसको एक हप्तापछि (माघ १४ गतेदेखि) क्षतिग्रस्त आयोजनाको मर्मत र सफाइको काम सुरु भएको थियो ।





























प्रतिक्रिया