सिन्धुलीमा बाेलेरो दुर्घटना : तीन जनाको मृत्यु, सात घाइते

सिन्धुलीमा बाेलेरो दुर्घटना : तीन जनाको मृत्यु, सात घाइते

केन्द्रबिन्दु
0
Shares

तीनपाटन गाउँपालिका–१ नक्कलेमा भएको बाेलेरो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरि वेलघारी स्वास्थ्य चौकीमा लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि सिन्धुली अस्पतालमा ल्याइएको छ। 

सात जना घाइतेमध्ये कर्णबहादुर विक, तुल्सिराम पहाडी र चालक राजु खत्रीलाई थप उपचारका लागि भर्खरै सिन्धुली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए। अन्य घाइतेको बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको र उनीहरूको पनि सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको लामाले जानकारी दिए। 

दुर्घटनामा तिनपाटन गाउँपालिका–९ आम्बोटेका अन्दाजी ५२ वर्षीय रामजी भण्डारी, कमलामाई नगरपालिका–७ घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियारको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।

बाेलेरोमा हालसम्म सात जना घाइते र तीन मृतक गरि १० जना सवार रहेको उनले बताए। सडकबाट तल खोल्सामा गाडी खसेको र गाडीमुनि मानिस थिचिएको हुन सक्ने उनले बताए। दुर्घटनास्थलबाट गाडी निकाल्न नसकिएको जानकारी दिए। गाडी निकाल्ने प्रयास भइरहेको उनले जानकारी दिए।

सिन्धुलीमाढीबाट तीनपाटन गाउँपालिकाको चकमकेतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ०७५६ नंको सिङ्गलक्याप पिकअप बाेलेरो दुर्घटना भएको थियो । उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको आशङ्का प्रहरीले गरेको छ।

Logo