छायानाथ राराका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

छायानाथ राराका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

केन्द्रबिन्दु
0
Shares

कम काम बढी रुपैयाँ भुक्तानी गर्ने मुगु छायानाथ रारा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। प्रमुख प्रशासकीय अधिकृतसहित सवइन्जिनियर, उपभोक्ता समितिका पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

अख्तियारले आर्थिक वर्ष २०७४/७५ को विनियोजित बजेटबाट अदालतचोकदेखि प्रशासन कार्यालयसम्मको बाटो निर्माण गर्दा बजेट दुरुपयोग गरेको आरोपमा उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारूसहित सहायक इन्जिनियर हस्तबहादुर मल्ल, इन्जिनियर महेश सिंह कठायत, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल, कोषाध्यक्ष रत्नादेवी हमालविरुद्ध मुद्दा दायर गरेको छ।

प्रतिवादीद्वय असिस्टेन्ट सवइञ्जिनियर मल्ल र इन्जिनियर महेश सिंह कठायतले फिल्डमा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मूल्याङ्कन गरी झुट्टा नापजाँच विवरण चढाई गलत सिफारिस गरि २९ लाख ७७ हजार ८२१.११ सरकारी हानिनोक्सानी पुर्‍याएको आयोगको आरोप रहेको छ। 

छायानाथ रारा, नगरपालिका–२ मा पर्ने पैदल बाटोमा पक्की सिँढी निर्माण गर्ने गरि आर्थिक वर्ष २०७४/०७५ मा विनियोजन भएको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा छायानाथ रारा, नगरपालिका–२ स्थित अदालत चोकदेखि प्रशासनसम्मको सडक निर्माणको कार्यमा सवइन्जिनियर तथा इन्जिनियरले वास्तविक कार्यभन्दा बढी कार्य भएको देखाई तयार पारेको नापी किताबमा प्रमुख प्रशासकीय अधिकृत सारुले सही गरि नापीको विवरणमा सहमति जनाएका थिए ।

त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष मल्ल र कोषाध्यक्ष रत्नादेवी हमालले गैरकानुनी लाभहानी पुर्‍याउने बदनियतले वास्तविकरूपमा भएको कार्यभन्दा बढी मूल्याङ्कन गराई भुक्तानी माग गरेका कारणले बिगो भराउन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

Logo