अब ६८ वर्षमै बृद्धभत्ता, बजेट निर्वाचन लक्षित हुने

अब ६८ वर्षमै बृद्धभत्ता, बजेट निर्वाचन लक्षित हुने

केन्द्रबिन्दु
0
Shares

सरकारले आज संघीय संसद्मा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले अपराह्न चार बजे बस्ने संघीय संसद्को बैठकमा वार्षिक आय-व्ययको विवरण प्रस्तुत गर्नेछन् ।

हरेक जेठ १५ मा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । यो चुनावी सरकार भएका कारण यस वर्षको बजेट निर्वाचन लक्षित हुनेछ । स्थानीय चुनाव भर्खरै सम्पन्न भएको यसै वर्ष संघ र प्रदेशको निर्वाचन सम्पन्न गर्नुपर्ने भएका कारण मतदातालाई लक्षित गरी बजेट आउने छ । त्यसैअनुसार सरकारको तयारी रहेको स्रोतको भनाई छ ।

सरकारले यो बजेटमार्फत सामाजिक सुरक्षा भत्ता अन्तर्गत ज्येष्ठ नागरिकहरूले भत्ता पाउने उमेर हद कम गर्ने तयारी गरेको छ । यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्धभत्ता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्ष बनाउने बताएका थिए । तर स्रोतकारअनुसार बजेटमा ६५ वर्ष नभएर ६८ वर्ष उमेर पूरा भएकालाई वृद्ध भत्ता दिने तयारी छ । त्यस्तै ज्येष्ठ नागरिक सहित कर्मचारी, उद्योगी-व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब-भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम बजेटमा समेटिने तयारी छ ।

मुलुक आर्थिक संकट र महंगीको चपेटामा भए पनि सरकारले कर्मचारीको तलब भने वृद्धि गर्ने तयारी गरेको छ । कर्मचारीको तलब सामान्य बढाउने गरी बजेट तयार भएको बताइएको छ । महँगी बढ्दै गएकाले तलब पनि बढाउनु पर्ने माग कर्मचारीहरूको छ तर देश आर्थिक संकटबाट गुज्रिरहेकाले सरकार दबाबमा छ । यसअघि योजना आयोगका उपाध्यक्ष संयोजकत्व रहेको स्रोत समितिले आगामी आर्थिक वर्षको बजेटको सीमा १७ खर्ब ४५ अर्ब निर्धारण गरेको थियो । तर, त्योभन्दा ठुलो आकारमा बजेट आउने सरकारले तयारी गरेको छ । 

Logo