पोखराबाट जोमसोमका लागि १९ जना यात्रु बोकेर उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटना हुँदा विमानमा सवार १९ जना यात्रु र ३ जना चालक दलका सदस्य सहित २२ जनाको ज्यान गएको छ । आइतबार बिहान ९:५५ बजे पोखरा विमानस्थलबाट उडेको जहाज १०:०७ बजेदेखि सम्पर्कबिहिन् भएको थियो ।
सोमबार बिहान तारा एअरको 9N-AET, DHC-6 TWIN OTTER उक्त विमान दुर्घटनाग्रस्त अवस्थामा फेला गरेको छ । मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको वडा नम्बर २ को सानुसरे भिरमा १४५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ बाट सोही क्षेत्रमा यार्सा संकलन गर्न गएका विशाल घर्ती मगरले दुर्घटनाग्रस्त विमान फेला परेका थिए । विशाल यार्सा संकलनका लागि वैशाखको पहिलो सातादेखि सानुसरे क्षेत्रका खर्कमा बस्दै आएका थिए।
यति समूहको १३ औँ विमान दुर्घटना
यो घटनासहित २४ वर्षयता यती समूहको १३ औँ हवाई दुर्घटना हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हवाई दुर्घटनाको रेकर्ड राख्न थालिएको ६७ वर्षयता भएका आइतबारको दुर्घटनासमेतलाई जोड्दा नेपाली आकाशमा १ सय ८ वटा हवाई दुर्घटना भएका छन् ।
०५५ सालको जेठमा दुईवटा टुइनअटर विमानबाट स्थापना भएको यती एयरलाइन्सले २४ वर्षयता आफ्ना दुई जना सञ्चालक दाजुभाइसहित १३ वटा हवाई दुर्घटनामा चालक दलका सदस्य र यात्रुसहित ९७ यात्रु गुमाएको छ । यतिले करिब दुई वर्षमा एउटा हवाई दुर्घटना बेहोर्नु परेपछि दुर्गम उडानका लागि १३ वर्षअघि छुट्टै कम्पनी स्थापना गरेर तारा एअर नाम दिएको थियो ।
यति र तारा एअरसमेत गरी यति समूहले विगत २४ वर्षयता पर्यटन व्यवसायी लाक्पा सोनाम शेर्पाको कम्पनीले १३ वटा हवाई दुर्घटना बेहोरिसकेको छ । तर, तारा एअर स्थापना भएयता तारा एयरकै पनि ६ वटा दुर्घटना हवाई दुर्घटना भइसकेका छन् । यसरी हेर्दा हरेक दुई वर्षमा यति समूहले एउटा दुर्घटना बेहोरेको छ । यतिको कुल १३ वटा घटनामा यती समूहले आफ्नै कम्पनीका विमानमा मानवीय क्षति भएका ६ वटा दुर्घटना बेहोरिसकेको छ । जसमा तीनवटा तारा र तीनवटा यतीसँग सम्बन्धित छन् । बाँकी ७ वटा घटनामा यात्रु घाइते भए पनि कुनै मानवीय क्षति भने भएका थिएनन् । १३ वटा दुर्घटनामा दुर्गम तथा हिमाली भेगमा मात्रै यो समूहले ११ वटा घटना भएका छन् ।
अधिकांश दुर्घटनामा यती समूहले वरिष्ठ तथा विज्ञ पाइलटहरू गुमाएको तथ्यांकमा देखिएको छ । प्राधिकरणद्वारा जारी एभिएसन सेफ्टी रिपोर्ट–२०२१ का अनुसार, २०१२ सालदेखि ०७६ चैत्रसम्म नेपालमा भएका १ सय ७ हवाई दुर्घटनामा अल्ट्रालाइट वायुयान ३, एकल इन्जिनयुक्त विमान ८, विदेशी वायुसेवाका ९, हेलिकप्टर ३६ र मल्टी इन्जिनयुक्त विमानसँग सम्बन्धित ५१ वटा दुर्घटना भएका छन् । यीमध्ये दुर्गम भेग उडानमा चार दशकदेखि नेपालमा प्रख्यात क्यानेडियन ट्विनओटर विमान मात्रै २४ वटा दुर्घटनामा परिसकेका छन् । जसमा ९ वटा घटनमा यती तथा ताराका नामले उडाइएका ट्विनओटर विमान परेका छन् ।
हालसम्मका दुर्घटनामा १ सय ८६ ले गुमाए ज्यान
नेपालको हवाई दुर्घटनामा परि हालसम्म करिब पौने २ सय जनाले ज्यान गुमाएका छन् । ०४१ सालयता ट्विनओटर दुर्घटनामा मात्रै १ सय ८६ जनाले ज्यान गुमाइसकेका छन् । मुस्ताङ क्षेत्रमा ताराको यो दोस्रो ठूलो दुर्घटना हो । ६ वर्षअघि ताराले आधुनिक ब्रान्ड–न्यू ट्विनओटर म्याग्दीको दानामा दुर्घटना हुँदा चालक दलसहित २३ जनाको मृत्यु भएको थियो । यस कम्पनीले बेहोरेको १३ वटा हवाई दुर्घटनामा आइतबार मुस्ताङको सानो सरे भीरमा भएको दोस्रो ठूलो दुर्घटना हो ।
दुर्गम उडानमा तारा एअरको नाममा ४ वटा ट्विनओटर सुगम उडानमा यतीको नाममा ५ वटा एटीआर विमान भएको यो कम्पनीसँग अब ८ वटा विमान बाँकी रहेका छन् ।
‘राइट टर्न’ गर्नुपर्नेमा ‘लेफ्ट टर्न’ गर्दा दुर्घटना
यसैबीच आइतबार भएको दुर्घटनाबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिएका छन् । संसद्को अन्तर्राष्ट्रिय समितिको सोमबार बसेको बैठकमा दुर्घटनाग्रस्त विमानबारे समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राइट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए।
घटनाको जाँचबुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले विश्वास दिलाए। घटनास्थल जोमसोम विमानस्थलबाट ८ नटिकल माइल दूरीमा पर्छ। उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा सोमबार बिहान भेटिएको थियो।































प्रतिक्रिया