आगामी साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट यातायात व्यवस्था विभाग पछि हटेको छ।
विभागले मंगलबार विज्ञप्ति जारी गर्दै नखोजिएको स्पष्टीकरण दिएको छ। २२ कात्तिक २०७८ को राजपत्रमा प्रकाशित सूचनामा तोकिएका सवारी साधनमा मात्रै इम्बोस्ड प्लेट अनिवार्य गर्न लागिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सबै सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान भएको हुनुपर्ने मनसाय नभएको समेत विभागले स्पष्टीकरण दिएको छ। ‘साउन १ गते बिहान देशभर गुड्ने सबै सवारीमा इम्बोस्ड प्लेट जडान भएको हुनुपर्नेछ भन्ने मनसाय अलिकति पनि होइन’, विज्ञप्तिमा भनिएको छ।
कात्तिक २२ मा प्रकाशित राजपत्रमा १ मंसिर २०७८ देखि नयाँ दर्ता हुने सवारी साधन, १ फागुनदेखि नामसारी हुने सवारी साधन र १ जेठ २०७९ देखि सवारी धनी प्रमाणपत्र नवीकरण हुने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने उल्लेख थियो। विभागले राजपत्रको सूचनामा तोकिएको सवारी साधनमा मात्र अनिवार्य गरेको र अन्य सवारी साधनमा सम्बन्धित सवारी कार्यालयहरूले लट नम्बरअनुसार तोकेर सूचना निकालेर इम्बोस्ड प्लेट जोड्दै जाने बताएको छ।
विभागले अहिलेकै गतिमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा ४० दिनमा २५ लाख सवारी साधनमा जडान गर्न नसकिने समेत स्वीकार गरेको छ। तर, विभागले राजपत्रको सूचनाअनुसार अनिवार्य गरेका सवारी साधनमा जोडिएको वा नजोडिएको भन्नेबारेमा भने अनुगमन गर्ने बताएको छ। विज्ञप्तिमा भनिएको छ, 'राज्यको दायित्व थपिँदै जाने, तर त्यसले लक्षित उद्देश्य प्राप्त नहुने अवस्थामा जिम्मेवार निकाय र पदाधिकारी गम्भीर रहनुपर्छ भन्नेमा विभाग सचेत छ।'
अहिले करिब २ लाख ५० हजार इम्बोस्ड नम्बर प्लेट छापिएर भण्डारमा रहेको जानकारी दिँदै विभागले यस्तो अवस्थामा सवारी धनीले इम्बोस्ड प्लेट स्वेच्छिक मात्रै ठानेको र सवारी कार्यालयहरूले पनि उदासीन भएर सेवा दिइरहेको विभागको भनाइ छ। यसले गर्दा ठेकेदार कम्पनीलाई गर्नुपर्ने भुक्तानीको दायित्व सिर्जना हुने अवस्था आएको विभागले जनाएको छ।
इम्बोस्ड प्लेट जडानका लागि आवश्यक सबै पूर्वाधार तयार रहेको दाबी गर्दै विभागले आवेदन प्रणाली, पर्सानलाइजेसन प्रणाली, फिटिङ गर्ने जनशक्ति, प्लेट ढुवानी व्यवस्था पनि तयार रहेको बताएको छ। विभागले इम्बोस्ड प्लेट रिड गर्ने आरएफआईडी गेट इम्बोस्ड प्लेटका लागि अनिवार्य नरहेको र उपयोगिता वृद्धि गर्ने संरचना मात्रै भएको बताएको छ। विभागमा परीक्षणका रुपमा गेट राखिएको भन्दै उसले १० वटा गेट जडानका लागि उपकरण आयात भइसकेको जानकारी दिएको छ।
शुक्रबार सूचना प्रकाशित गर्दै विभागले असार मसान्तभित्र इम्बोस्ड प्लेट जडान गरिसक्नुपर्ने नभए कारवाही गर्ने चेतावनी दिएपछि चौतर्फी आलोचना भएको थियो।
प्रतिक्रिया