ताप्लेजुङको सिरिजंघा गाउँपालिका-७ खेवाङमा पहिरोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ।
वर्षासँगै गएराति करिब साढे ८ बजे झरेको पहिरोले स्थानीय विष्णु अधिकारीको घर पुरिएको थियो । पहिरोमा पुरिएका विष्णुकी आमा तुलसा र श्रीमती यशोदाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी कैलाश राईले जानकारी दिए ।
विष्णु भने भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने पशुचौपायासमेत पुरेको बताइएको छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो झरेको छ । लगातारको वर्षाले सडकमा पहिरो झरेपछि सिदिङ्वा गाउँपालिकाका सबै विद्यालय अनिश्चित कालका लागि बन्द गरिएको छ ।
आवतजावतमा समस्या भएको जनाइएको छ ।
प्रतिक्रिया