विभिन्न घटनामा आठ जनाको मृत्यु

विभिन्न घटनामा आठ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

देशभर भएका विभिन्न घटनामा आठ जनाको मृत्यु भएको छ । दुई जनाको करेन्ट लागेर, तीन जनाको सवारी दुर्घटनामा र तीन जनाको डुबेर मृत्यु भएको हो । 

भक्तपुर र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ स्थित निर्माणाधिन घरको रड काट्ने क्रममा मेशिनबाट करेन्ट लागेर रामेछाप घर भएका २६ वर्षीय रोसन बिकको बिहीबार मृत्यु भएको हो । करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै झापाको भद्रपुर नगरपालिका–७ बस्ने ४० वर्षीय भोटलाल गणेश राजवंशीको करेन्ट लागेर बिहीबार मृत्यु भएको  छ ।  मेचीनगर नगरपालिका–४ स्थित खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

सवारी दुर्घटनामा तीनको मृत्यु 

सर्लाही,कैलाली र बारामा भएको सवारी दुर्घटनामा तनि जनाको मृत्यु भएको छ । सर्लाहकिो  बरहथवा नगरपालिका–१० किशनपुरमा शुक्रबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रौतहटको ईशनाथ गाँउपालिका–५ लक्ष्मिनियाका अन्दाजी २६ बर्षीय मुकेश साहको घटनास्थलमै मृत्यु भएको हो । साह सवार ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले आज बिहान पौने ९ बजे ठक्कर दिएको थियो ।  टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीले जनाएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा से.६ प ८०२८ नम्बरको मोटरसाइकल गाईलाई  ठक्कर दिई बिहीबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१ बस्ने ५५ वर्षीय निर्मल हमाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

त्यस्तै बाराको कलैया उपमहानगरपालिका–२० पसहा खोलामा बीआर ०५ एएम ११६५ नम्बरको स्कटुर बिहीबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक देवताल गाउँपालिका–२ बस्ने ६० वर्षीय रामअच्छे साह तेली रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि नारायणी अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।    

डुबेर तीन जनाको मृत्यु  

मोरङ, सिरहा र सुनसरीमा डुबेर तीन जनाको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका–९ मा एक बालकको डुबेर मृत्यु भएको छ । स्थानीय लेखराज राईको २६ महिनाको छोरा हिटलर राईको आफ्नै घर नजिकै पानीको पैनीमा डुबेर बिहीबार मृत्यु भएको हो ।

त्यस्तै सिरहाको भगवानपुर गाउँपालिका–४ बस्ने अजय यादवकी छोरी १६ महिनाकी रोशनी कुमारी यादवको बिहीबार डुबेर मृत्यु भएको छ । सखुवान्नाकट्टी गाउँपालिका–२ पटना टोलस्थित मामा घरमा खेल्ने क्रममा घर नजिकै पोखरीमा डुब्दा उनको मृत्यु भएको हो ।

सुनसरीको बर्जु गाउँपालिका–६ टपरा टोल बस्ने बिनोद यादवको छोरा १५ वर्षीय राज भन्ने अजय यादवको बिहीबार डुबेर मृत्यु भएको छ । सोही ठाउँस्थित भैँसी चराउने क्रममा बुढी खोलामा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । 

Logo