काठमाडौंको फोहोर व्यवस्थापन नहुँदा काठमाडौंबासी आजित भइसकेका छन् ।
बजार चोक तथा गल्लीहरुमा डुङ्डुङ्ती गन्हाइरहने फोहोरको पहाडले सहर बेरुप बनेको छ । दुर्गन्ध सहिनसक्नु हुँदा सहरबासी नाक थुन्दै दौडिनुपर्ने अवस्थामा छन् । त्यही अव्यवस्थित सहर व्यवस्थापन गर्ने संकल्पसहित काठमाडौका मेयर बन्न खोजेका बालेन्द्र शाहलाई काठमाडौंबासीले अत्यधिक मत दिएर जिताएका हुन् । तर अहिले बालेनलाई त्यही फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ ।
काठमाडौंमा जनसंख्या वृद्धि भएसँगै प्रत्येक पालिकाले आ आफ्नो क्षेत्रभित्र फोहोर व्यपस्थापन लागायत आ–आफ्नो सरोकारको विषय आफै सल्ट्याउने भनी सन् १९५० मा काठमाडौं, पाटन र भक्तपुर तीन सहरलाई नगरपालिकाको रुपमा खडा गरिएको थियो । सन् १९८० को दशकअघि फोहोरमैलाको व्यवस्थापन पक्ष गम्भीर समस्याको रुपमा खडा भएको थिएन ।
तर जनसंख्या वृद्धिका कारण अत्यधिक फोहोर उत्पादन हुन थाल्यो । यसको व्यवस्थापनमा सकस देखियो । जर्मन प्राविधिक सहयोग एजेन्सीको सहयोगमा फोहोर व्यवस्थापन तथा स्रोत परिचालन केन्द्रले सन् १९८१ मा काठमाडौं उपत्यको फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी पाएको थियो । सन् १९८६ मा गोकर्णमा एक सेनिटर ल्याण्डफिल साइटको विकास गरिएको थियो ।
उपत्यकाको फोहोर त्यहीँ व्यवस्थापन गर्ने गरियो । नेपालमा सन् १९९० मा भएको राजनीतिक परिवर्तनपछि फोहोर व्यवस्थापन तथा स्रोत परिचालन केन्द्रमा फोहोर व्यवस्थापनको जिम्मेवारी पाएका पदाधिकारी सरकार परिवर्तन भएसँगै निरन्तर फेरिन थाले । त्यसयता जथाभावी ल्याण्डफिल साइट समेत सञ्चालन गर्न थालियो भने विभिन्न अवसरको खोजिमा काठमाडौं भित्रिने नागरिकको पनि उकालो लाग्दा फोहोर व्यवस्थापनको समस्या चुलिन थाल्यो । सन् १९९३ मा जीटीजेडले आर्थिक सहयोग फिर्ता लियो ।
फोहोर व्यवस्थापनको जिम्मेवारि नगरपालिकालाई हस्तान्तरण गरियो। यससँगै फोहोरमैला व्यवस्थापनमा सरकार र नगरपालिकाको भूमिका अस्पष्ट देखियो। आपसमा विवादसमेत उत्पन्न भयो। तथापि, अन्तमा ल्यान्डफिल साइटको व्यवस्था सरकारले गर्ने र दैनिक फोहोरमैला व्यवस्थापन लगायत विसर्जनको जिम्मेवारी नगरपालिकाले गर्ने गरी विवादको टुंगो लगाइयो। फोहोरको उचित व्यवस्थापन हुन नसक्दा गोकर्णस्थित ल्यान्डफिल साइटवरपर स्थानीयले फोहोरमैला ढुवानी गर्ने ट्रकहरूलाई प्रवेशमा रोक लगाए।
यस अवधिमा काठमाडौं उपत्यकाभित्र ठाउँ–ठाउँमा फोहोर थुप्रियो। सहर नै दुर्गन्धित हुन पुग्यो । फोहोर व्यवस्थापनका लागि उचित स्थान उपलब्ध नभएपछि काठमाडौं महानगरपालिकाले टुँडिखेलमा समेत फोहोर फाल्नुपर्ने अवस्था सिर्जना भयो । यसै अवधिमा जलस्रोतका साथै मानव स्वास्थ्यमा पर्ने असरलाई ध्यान नै नदिई काठमाडौंको बल्खुनजिकै बागमती नदीको किनारमा फोहोर फ्याँकियो। ठोस फोहोरको बिसर्जनका लागि सेनेटरी ल्यान्डफिल साइटको छनोट र विकास गर्न सरकारका अगाडि ठूलो चुनौती देखा प¥यो। यसैबीच सरकारले काठमाडौंबाट करिब १८ किमि टाढा नुवाकोट जिल्लाको ओखरपौवा गाविसको बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण गर्ने निर्णय ग¥यो ।
बञ्चरेडाँडा ल्यान्डफिल साइटको विकास नभएसम्म सो स्थानभन्दा २ किलोमिटर दक्षिण–पूर्वमा अवस्थित सिसडोल र आलेटार साइटहरू अस्थायी रूपमा निर्माण गरी सन् २००५ देखि फोहोर विसर्जनको काम थालियो। सिसडोल ल्यान्डफिल साइट निर्माण गर्नुपूर्व सो क्षेत्रको वातावरण प्रभाव मूल्यांकन सम्पन्न गरी प्रतिवेदनसमेत सार्वजनिक गरियो । तर, समय बित्दै जाँदा प्रतिवेदन अनुरूप कार्य नभएपछि स्थानियबासि र फोहोर ढुवानी हुने बाटोका बासिन्दाले बिरोध सुरु गरे।
बञ्चरेडाँडा ल्यान्डफिल साइट निर्माण नभएसम्मको लागि अल्पकालीन रूपमा फोहोर व्यवस्थापनका लागि छनोट गरिएका सिसडोल र आलेटार साइटको क्षमता समाप्त भयो । तर, पनि फोहोर विसर्जन गर्ने कार्य जारी रहेकाले स्थानीयको विरोध निरन्तर कायम छ। काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापनसँग सम्बन्धित बिगतदेखि वर्तमानसम्मको यथार्थ केलाएपछि फोहोरको उचित व्यवस्थापन हुन नसक्नुका कारणबारे चर्चा गर्नु सान्दर्भिक हुन्छ ।
तीन वर्षका लागि भनेर भाडामा लिएको सिसडोलले १६ वर्षदेखि नै काठमाडौं उपत्यकाको फोहोर धान्दै आएको छ । यसको विकल्पकै रुपमा नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइट बनिरहेको भएपनि त्यसको निर्माणमा ढिलाइ हुँदा समस्या भएको छ । धेरै दिनसम्म फोहोर थन्किदा दुर्गन्ध निस्किने हुँदा नाक थुन्दै हिँड्नुपर्ने र बिहानै ताजा हावामा सयर गर्न हिँड्दा फोहोरको दृश्यले तनाव दिने गरेको सर्वसाधारणको गुनासो छ ।
जेठ २८ गते बञ्चरेडाँडाका स्थानियहरुसँग अठार बुँदे सहमति भएको काठमाडौं महानगरपालिकाले बताएको छ । सहमति भइसकेपछि बञ्चरेडाँडामा फोहोर विर्सजन भइरहेको थियो,अहिले बाटो खराब भएका कारण पनि फोहोर उठाउने काम स्थगित भएको महानगरपालिकाले जनाएको छ । बञ्चरेडाँडाको भने बाटो बनिसकेको महानगरको भनाइ छ । फोहोर लग्ने क्रममा आवतजावत गर्दा स्थानियहरुले दुर्गन्ध भयो भन्दै अवरोध सिर्जना गर्ने गरेका छन् ।
बञ्चरेडाँडाको ल्याण्डफिल साइट निर्माण गर्न सरकारको ठूलो लगानी लागेको छ । धादिङ र ककनी नगरपालिकाका स्थानियहरुसँग सहकार्य गरेर अगाडि बढ्नुको विकल्प देखिदैन । फोहोर व्यवस्थापनको अन्तिम विकल्प भनेको बञ्चरेडाँडा नै भएको महानगरको भनाइ छ । फोहेरलाई मोहरमा घन्काउने जति नारा घनकाए पनि महानगरको बजेटले भ्याएसम्म फोहोरलाई खरानीमा बदल्ने महानगरको भनाइ छ । मेयर कने लगत्तै बालेन शाह सिसडोल र बञ्चरे डाँडाको ल्याण्डफिल साइट हेर्न पुगेका थिए ।
त्यसबेला उनले स्थानिलाई अनेक आश्वासन पनि दिएका थिए । जसमध्ये एउटा आश्वासन थियो केही दिनमा केमिकल प्रयोग गरेर थुपारिएको फोहोरलाई दुर्गन्धरहित बनाउने । त्यससँगै उनले तीन महिनाभित्रै ल्याण्डफिल साइटसमम जाने सडक कालोपत्रे गर्ने बचन पनि दिएका थिए । सँगै आफू स्ट्रकचरल इन्जीनियर भएकाले सबै आफूलाई थाहा भएको र भनेको काम तुरुन्तै हुने आश्वासन पनि दिएका थिए । तर भनेअनुरुप काम नहुँदा स्थानियवासी रुष्ट भएका छन् । स्थानीयले अब कहिल्यै काठमाडौंको फोहोर फाल्न नदिने भन्दै पत्राचार समेत गरिसकेका छन् ।





























प्रतिक्रिया