भक्तपुरमा औषधि पसल अनुगमनः उच्च रक्तचाप र मधुमेहको औषधि अभाव

भक्तपुरमा औषधि पसल अनुगमनः उच्च रक्तचाप र मधुमेहको औषधि अभाव


भक्तपुर।

कोरोना भाइरस (कोभिड–१९) को असरले बजारमा माक्स, सेनेटाइजर र औषधिको अभाव देखाई कालोबजारी गर्ने गरेको गुनासो आएपछि भक्तपुर नगरपालिकाले विहिबार औषधि पसलहरुको अनुगमन गरेको छ ।

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा जगाती र च्याम्हासिंमा सञ्चालनमा रहेका औषधि पसलहरुको अनुगमनको क्रममा उच्च रक्तचाप र मधुमेहको औषधिको अभाव भएको पाइएको छ । अनुगमनको क्रममा चाँगुनारायण पोलिक्लिनिक प्रालिका सञ्चालक सुजित श्रेष्ठले उच्च रक्तचाप र मधुमेहको औषधिको अभाव भएकोे बताए।

त्यसैगरी अनुगमन गरिएका उक्त पोलिक्लिनिक लगायत जगाती मेडिकल हल, सुसा फर्मेसीमा क्लिनिक, नवदुर्गा औषधि पसल, यातु औषधि पसल, च्याम्हासिं मेडिकल हल लगायतमा गरिएको अनुगमनमा औषधि अभाव हुन नदिन आवश्यकताभन्दा बढी बिक्री वितरण नगर्न र औषधि बिक्री गर्दा अनिवार्यरूपमा बिल दिएर रेकर्ड राख्न टोलीले निर्देशन दिएको अनुगमन समितिका सदस्य रामकृष्ण प्रजापतिले जानकारी दिए ।

अनुगमनमा जगाती मेडिकल हलमा औषधि तापक्रम मिलाएर राख्न, औषधिको लागि फ्रिज राख्न, पसलमा बस्ने व्यक्तिको औषधि व्यवस्था विभागको अनुमति प्रमाणपत्र अनिवार्य राख्न र क्लिनिक सञ्चालन गर्ने भए छुट्टै दर्ता गरेर सञ्चालन गर्न निर्देशन दिएको र लागुऔषध बिक्री वितरणबारे जानकारी लिएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताए ।

त्यस्तै नवदुर्गा औषधि पसलमा म्याद नाघेको औषधि भि–मेट ५०० दुई बट्टा र मेटा–एच ८५० दुई पाकेट बरामद गरी नष्ट गर्न निर्देशन दिएको छ । केही औषधि पसलमा बस्नेले औषधि व्यवस्था विभागको अनुमति प्रमाणपत्र नभएको पाइएकाले तत्काल प्रमाणपत्र राख्न, म्याद नाघेको औषधि हप्तैपिच्छे कम्युटर प्रणालीबाट जाँच गर्न, म्याद गुज्रेका औषधि बिक्री नगर्न, बिक्री गर्ने ठाउँमा नराख्न, अनुमति नलिइ क्लिनिक सञ्चालन नगर्न निर्देशन दिएको छ ।

कतिपय औषधि पसलले दर्ता नवीकरणसमेत नगरेको पाइएकाले तत्काल दर्ता नवीकरण गर्न पनि निर्देशन दिएको छ ।रासस

Logo